जलाशययुक्त तीन ठूला आयोजना एकसाथ अघि बढाउने तयारी
काठमाडौं, १९ भदौ । सरकारले ठूला जलाशयुक्त र अर्धजलाशयुक्त जलविद्युत् आयोजना अगाडि बढाउने भएको छ । विद्युत् माग र आपूर्ति व्यवस्थापनलाई समेत सन्तुलन कायम गर्ने ध्येयका साथ ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता साथ निर्माण शुरु गर्ने तयारी गरेको हो ।
प्राधिकरणले ८३५ मेगावाटको दूधकोसी जलाशययुक्त र १ हजार ६१ मेगावाटको माथिल्लो अरुण र २१० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत् आयोजना एकसाथ अगाडि बढाउन लागिएको बताएको छ । ती आयोजना हाल विस्तृत अध्ययनको अन्तिम चरणमा छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तीन ठूला जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ अन्तिम रूप दिने, निर्माणका लागि ठेकेदार छनोटका टेण्डर कागजात तयार गर्ने, पहुँच सडक निर्माण तथा जग्गा अधिग्रहणको काम अगाडि बढाएको छ । यस्तै, वित्तीय व्यवस्थापनका लागि स्वदेशी वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायसँगका छलफल समानान्तर रूपमा अगाडि बढाइएको उहाँले जानकारी दिएका छन् ।
अर्थ मन्त्रालयमार्फत एसियाली विकास बैंक (एडीबी)को नेतृत्वमा दूधकोसीमा लगानीका लागि युरोपेली लगानी बैंक (इआईबी), एसियाली पूर्वाधार लगानी बैक (एआईआईबी) र कोरियाली एक्जिम बैकसँग छलफल भइरहेको घिसिङले बताएका छन् ।
दूधकोसीको अनुमानित आधार लागत १ अर्ब ५३ करोड डलर (करिब १ खर्ब ७८ अर्ब) र निर्माण अवधिको ब्याज, करसहित सम्पूर्ण लागत करिब दुई अर्ब डलर पुग्ने अनुमान गरिएको छ । अध्ययन भएका जलाशययुक्त आयोजनामध्ये लागत र ऊर्जा उत्पादनका आधारमा दूधकोसी तुलनात्मक रूपमा सस्तो र आकर्षक मानिएको छ ।
खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा पर्ने आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड युनिट ऊर्जामध्ये हिउँद र बर्खामा क्रमशः १ अर्ब ३६ करोड र २ अर्ब ८ करोड युनिट ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाले पहुँच सडक निर्माण र बाँध निर्माणस्थलभन्दा माथि डुबान क्षेत्रमा पर्ने खोटाङतर्फको करिब १३ हजार रोपनी जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ ।
यस्तै अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेन्जर’ आयोजनाको रूपमा अगाडि बढाइने प्राधिकरणले बताएको छ । ‘जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत चार अंकको जडित क्षमता (१०६१ मेगावाट) र प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो यस आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको शेयर र विश्व बैंक, युरोपेली लगानी बैंकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी संचय कोष, नागरिक लगानी कोषजस्ता स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने कार्यकारी निर्देशक घिसिङले बताए ।
प्राधिकरणले माथिल्लो अरुणकै अंग रहनेगरी ३० मेगावाटको इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत् कार्यक्रममा समावेश भएको आयोजना हो ।
यस्तै बझाङमा पर्ने चैनपुर सेतीलाई सुदूरपश्चिम प्रदेशको गेमचेन्जर आयोजनाको रूपमा अगाडि बढाइने छ । जनताको जलविद्युत् कार्यक्रममा अन्तर्गत निर्माण गरिने आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहने बताइएको छ । आयोजनालाई इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा निर्माणका लागि टेण्डर कागजपत्र तयार, पहुँच सडक निर्माण, जग्गा अधिग्रहणलगायत काम भइरहेको छ ।