Shangrila

निजी आवास पुनर्निर्माणमा बैंकिङ प्रणालीबाट २५० अर्बभन्दा बढी प्रवाह

काठमाडौं, ३१ भदौ । २०७२ सालको भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा बैंकिङ प्रणालीमार्फत २५० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । निजी आवास पुर्निर्माणमा सरकारले दिएको अनुदान एवं बैंकिङ कर्जामार्फत उक्त रकम लगानी भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार निजी आवास पुर्निर्माणका अधिकांश काम सकिएको छ ।

यससँगै भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम सम्बन्धित मन्त्रालय एवं विभागलाई हस्तान्तरण शुरू भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण निर्देशक समितिको यही भदौ ९ गतेको निर्णयानुसार हस्तान्तरण बुधवारदेखि सो कार्य शुरू भएको हो ।

प्राधिकरणमा आयोजित कार्यक्रममा निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापनसहितका पुनर्निर्माणसम्बन्धी बाँकी काम सहरी विकास मन्त्रालय र सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ । सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)मार्फत सञ्चालित सम्पदा एवं गुम्बाको पुनर्निर्माणसम्बन्धी काम पनि सहरी विकास मन्त्रालय मातहत नै हस्तान्तरण भएको छ ।

शैक्षिक संस्थाको पुनर्निर्माणसम्बन्धी काम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने गरी जिम्मेवारी दिइएको छ । पुरातात्विक सम्पदा (निर्माण सुरु नभएका १०० वर्षभन्दा पुराना गुम्बासमेत) को पुनर्निर्माण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभागबाट हुने गरी हस्तान्तरणको तयारी छ । सडक तथा पुल एवं केही गुम्बाको काम पनि गुम्बा व्यवस्थापन समितिको समन्वयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय÷स्थानीय पूर्वाधार विभागबाट हुने गरी हस्तान्तरण भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हस्तान्तरण भएका पुनःनिर्माणका बाँकी काम सम्बन्धित निकायले निष्कर्षमा पु¥याउने बताए । हस्तान्तरणपछि सम्बन्धित निकायलाई सबल बनाउन पनि प्राधिकरणले काम गर्नेछ । हस्तान्तरण भएका कार्यक्रमको कानूनी र नीतिगत आधार पनि प्राधिकरणले नै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *