चालु आर्थिक वर्षको २ महिनामा ११ अर्ब ७० करोड वैदेशिक लगानी प्रतिवद्धता
काठमाडौं, ३१ भदौ । चालु आर्थिक वर्ष २०७८/७९ को साउन र भदौ महिनामा ११ अर्ब ७० करोड ५० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागका अनुसार साउन १ गतेदेखि भदौ २७ गतेसम्म ७१ परियोजनाका लागि उक्त रकम प्रतिवद्धता आएको हो ।
उक्त अवधिमा सबैभन्दा बढी पर्यटन क्षेत्रमा प्रतिवद्धता आएको छ । पर्यटन क्षेत्रमा ३० वटा परियोजनाका लागि ५ अर्ब ६० करोड ४० लाख रुपैयाँको प्रतिवद्धता आएको छ । त्यसैगरी बढी प्रतिवद्धता आउने दोस्रोमा सेवा क्षेत्र रहेको छ । यो क्षेत्रमा २० वटा परियोजनाका लागि ३ अर्ब ४० करोड ५० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।
सबैभन्दा कम ऊर्जा क्षेत्रमा १ परियोजनाका लागि ५ करोड ६० लाख रुपैयाँ प्रतिवद्धता आएको छ । उक्त अवधिमा कृषि तथा वन जन्य क्षेत्रमा ४ वटा परियोजनाका लागि ६० करोड, उत्पादन क्षेत्रमा १५ वटा परियोजनाका लागि १ अर्ब ९४ करोड र प्रविधितर्फ १ परियोजनाका लागि १० करोड रुपैयाँ प्रतिवद्धता आएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा विभागमा ३२ अर्ब ७ करोड २० लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । तर, उक्त आर्थिक वर्षको अन्त्यसम्ममा १९ अर्ब ५१ करोड रुपैयाँ मात्र वैदेशिक लगानी आएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।