बहुमुल्य धातुको कारोबार गर्ने व्यवसायीहरुका लागि जारी निर्देशिका व्यवहारिक बनाउन महासंघको आग्रह
काठमाडौं, ३१ भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ‘बहुमुल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरुका लागि जारी निर्देशिका २०७७’ व्यवहारिक बनाउन सरकारसँग आग्रह गरेको छ । निर्देशिकाका कतिपय बुँदाहरु व्यवहारिक नभएको भन्दै त्यसलाई व्यवहारिक वनाउन महासंघले आन्तरिक राजस्व विभागसँग आग्रह गरेको हो ।
महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले निर्देशिकामा उल्लेख गरिएका मापदण्ड पुरा गर्न साना व्यवसायीहरुलाई अप्ठ्यारो परेको उल्लेख गर्दै त्यसलाई संशोधन गर्न आग्रह गरे । अहिलेकै निर्देशिका कार्यान्वयन हुँदा व्यवसायीलाई असहज हुने र साना व्यवसायी पलायन हुनु पर्ने अवस्था समेत आउन सक्ने उनको भनाई छ ।
विभागका निर्देशक वोलराज आचार्यले उक्त निर्देशिका व्यवसायीलाई दुखी दिने नियतले नभई सम्पत्ति शुद्धिकरण गर्न खोज्नेहरुका लागि लक्षित गरी जारी भएकोले व्यवसायीलाई अप्ठ्यारो नहुने बताए ।