लुम्बिनी प्रदेशको उद्योग क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको १ खर्ब १४ अर्ब कर्जा लगानी
काठमाडौं, ६ असोज । लुम्बिनी प्रदेशको उद्योग क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी १ खर्ब १४ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (लुम्बिनी प्रदेश) प्रथम अर्धवार्षिक प्रतिवेदन २०७७÷७८’ ले समीक्षा अवधिमा उक्त प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाहरूवाट औद्योगिक क्षेत्रमा प्रवाह गरेकोकर्जा २.८९ प्रतिशतले वृद्धि भई १ खर्ब १४ अर्ब २४ करोड ३९ लाख पुगेको देखाएको हो ।
उक्त अवधिमा प्रवाहित कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा गएको कर्जाको अंश २७.३४ प्रतिशत रहेको छ । २०७७ पुस मसान्तसम्म प्रवाहित कुलकर्जामध्येगैर खाद्यवस्तु सम्बन्धी उद्योगमा प्रवाहित कर्जा १.५१ प्रतिशत र विद्युत, ग्याँस तथा पानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा ५.९४ प्रतिशतले ह्रास भएको छ भने खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा ४७.४७ प्रतिशतले वृद्धि भएको छ ।
जिल्लागत रूपमा क्षेत्रगत औद्योगिक लगानीको स्थिति हेर्दा रुपन्देहीमा सबैभन्दा बढी ५९.२८ प्रतिशत अर्थात् ६७ अर्ब ७२ करोड ८९ लाख लगानीमा रहेको देखिन्छ भने सबैभन्दा न्यून रुकुम पूर्वमा ०.१ प्रतिशत अर्थात् ११ करोड ७३ लाख ३० हजार कर्जा प्रवाह भएको देखिन्छ ।
अध्ययन प्रयोजनको लागि छानिएका उद्योगहरुमध्ये समीक्षा अवधिमा चाउचाउ, मदिरा, कागज, सिमेन्ट, आल्मुनियमका उत्पादन, प्लाष्टिकको सामान र सेन्थेटिक कपडा उद्योगकोक्षमता उपयोग घटेको देखिन्छ भने तोरीको तेल, गहुँको पिठो, पशुदाना र फलामको छड तथा पत्ति उद्योगको क्षमता उपयोग वृद्धि भएको देखिन्छ ।
समीक्षा अवधिमा चाउचाउ उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ९४.०९ प्रतिशत क्षमता उपयोग गरेको देखिन्छ भने छनौटमा परेका उद्योगहरुको समग्र क्षमता उपयोग ४८.८० प्रतिशत रहेको देखिन्छ ।