डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला
काठमाडौं, ८ असोज । डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमण बढेपछि अनअराइभल भिसा दिन रोक लगाएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ बिहीवार सार्वजनिक गर्दै अनअराइभल भिसा खुला गरेको बताएको छ । आदेश राजपत्रमा प्रकाशित भएपछि मात्रै लागू हुनेछ ।
तर यसका लागि सरकारले केही सर्तहरु भने तोकेको छ। कोभिड–१९ विरुद्ध खोपको मात्रा पूरा गरेका नागरिकलाई मात्रै यस्तो भिसा दिइनेछ । अनअराइभल भिसाका लागि नेपाल आउने पर्यटकले नेपालको अध्यागमन प्रवेश विन्दुमा भिसाका लागि आवेदन दिनुपर्नेछ । आवेदन दिँदा उनीहरूले कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, हवाई उडानका लागि चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ भएको प्रमाण पेश गर्नुपर्नेछ ।
यस्तै पर्वतारोहण र पदयात्रामा आउनेहरूले अनुमतिको प्रतिलिपि, होटेल बुक गरेको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) अनलाइन फारम भरी त्यसको प्रिन्टजस्ता कागजातसमेत पेश गर्नुपर्ने छ ।