Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

दैनिक एक करोड लिटर पानी उपलब्ध हुनेगरी मेलम्चीको विकल्प खोजिँदै

दैनिक एक करोड लिटर पानी उपलब्ध हुनेगरी मेलम्चीको विकल्प खोजिँदै

काठमाडौं, २६ कात्तिक । काठमाडौं उपत्यकामा मेलम्ची आयोजनाको पानी आउन समय लाग्ने भएपछि त्यसको तत्कालीन विकल्प खोजिने भएको छ । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो ।

मेलम्चीको पानी नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी दिए । उनका अनुसार उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुनेगरी योजना बनाइएको छ ।

अहिले भइरहेका मुहान संरक्षण गरेर त्यहीँबाट बढी पानी लिन लागिएको बताइएको छ । पुराना ट्युबवेल संरक्षण गर्न थालिएको छ । उपलब्ध पानीको परिमाण बढेपछि तालिका हेरफेर गरेर वितरण गरिने शाक्यले बताए । उपत्यकामा कतिपय स्थानका सेवाग्राहीले आफ्नो घरमा पानी नआएको भनी गुनासो गर्दै आएका छन् । ‘ती स्थानमा पनि ट्यांकरबाट सार्वजनिक ट्यांकीमा भरेर सुक्खा व्यवस्थापन गरिनेछ,’ उनले भने ।

केयूकेएलले उपत्यकाभित्रै खानेपानीको क्षमता बढाउन १० स्थानमा ट्युबवेल खन्न लागेको छ । भइरहेका मुहान बढाउँदा र डिप ट्युबवेल गरी हाल भइरहेको पानीमा एक करोड लिटर थप हुनेछ । हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । वर्षामा झन्डै १७ करोड र हिउँदमा त्योभन्दा कम उपलब्ध गराउन सकिएको केयूकेएलले बताएको छ । हिउँद लागेसँगै अहिले पानीको उपलब्धता घटेर दैनिक ८ देखि ९ करोड लिटर पानी वितरण भइरहेको छ ।

केयूकेएल अन्तर्गत सम्बन्धित शाखाले आफ्नो क्षेत्रमा कुन कुन बार र कति बजे पानी वितरण गरिने भनी फेसबुक पेजबाट तालिका राख्ने गरेको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले वैकल्पिक पानीको स्रोतको पनि अध्ययन गरिरहेको छ । सिस्नेरी, कुलेखानी लगायतका पानीको स्रोतको पनि सम्भाव्यता अध्ययन भइरहेको छ ।

केयूकेएलले उपत्यकामा जग्गा उपलब्ध हुनसक्ने ठाउँमा डिप वेल निर्माण गरिरहेको छ । सानेपा–बल्खुमा एउटा निर्माण सकिएको छ भने गोकर्ण, भक्तपुर लगायतका ठाउँमा निर्माण भइरहेको छ । स्थानीय तहले सार्वजनिक जग्गा उपलब्ध गराउँदा अध्ययन गरेर सम्भावना भएमा खन्ने गरिएको छ ।
काठमाडौं उपत्यकामा दशकौंदेखि खानेपानीको समस्या छ । पानीको समस्या हटाउन मेलम्चीको पानी ल्याउन लागिएको थियो । मेलम्चीमा भएको दुर्घटनाका कारण पानी आउन रोकिएपछि पुनः समस्या बढेको छ । रासस

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *