मोबाइल बजार व्यवस्थित गर्न एमडिएमएस तत्काल लागु हुने

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागु हुने घोषणा गरेका छन् । नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनसभामा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न एमडिएमएस तत्काल लागु हुने घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘मैले अवैध रुपमा मोबाइल फोन आयात हुने विषयलाई व्यवस्थापन गर्न लागु हुने एमडिएमएसबारे हिजो मात्रै थाहा पाएँ । मैले हिजै तत्काल लागु गर्न निर्देशन दिइसकेको छ । तत्काल नै लागु हुन्छ ।’
उनले विदेशबाट वैधानिक रुपमा दैनिक हजारौं मानिसले ल्याइरहेको मोबाइल फोन रोक्न भने कठिन रहेको बताए । उ‘हामी रेमिट्यान्सले अर्थतन्त्र चलाइरहेका छौं । विदेशमा दुःख गरेर नेपाल फर्किनेहरूलाई एउटा फोन पनि ल्याउन नदिनु अन्याय हुन्छ । ल्याउन दिएमा यहाँ दर्ता हुँदैन । यो अलि समस्या छ । यद्यपि व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ ।’
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मोबाइल फोनको अवैध आयात रोक्न सके अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने बताए । अहिले मोबाइल फोन अवैध रुपमा आयात भइरहेको भन्दै उनले अर्थतन्त्रलाई व्यवस्थित र औपचारिक रुपमा अघि बढाउनका लागि अवैध आयात रोक्नैपर्नेमा जोड दिए ।
कार्यक्रममा व्यवसायी दीपक मल्होत्राले मोबाइल व्यवसायलाई व्यवस्थित गर्न एमडिएमएस लागु गर्नु अनिवार्य शर्त भएको बताए ।
यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले मोबाइल फोन विलासिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताए । ‘मोबाइल फोन विलासिता होइन । यति लामो लकडाउनमा सूचना र सञ्चारमा पनि मोबाइल फोनको ठूलो योगदान छ,’ उनले भने ।
कार्यक्रममा ससस्त्र प्रहरी सुरक्षा बलका डिआइजी सिपी गजुरेलले पनि सीमा क्षेत्रमा हुने अवैध निकासी पैठारी रोक्न संगठन तयार रहेको बताए ।
नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले संस्थाको कानूनी अधिकारभित्र रहेर यही महिनाभित्र एमडिएमएस लागु गरी मोबाइल बजार व्यवस्थित गर्ने प्रतिबद्धता जनाए ।