Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अर्थतन्त्र समस्यामा, तत्काल सुधारको काम थाल्न अर्थविद्हरूको सुझाव

अर्थतन्त्र समस्यामा, तत्काल सुधारको काम थाल्न अर्थविद्हरूको सुझाव

काठमाडौं, ३ पुस । कोरोना कहरबाट प्रभावित भएको अर्थतन्त्र राम्ररी तङ्गिन नपाउँदै पुनःसमस्यामा परेको भन्दै अर्थविद्ले तत्काल समस्याको समाधानका लागि पहल थाल्न सुझाव दिएका छन् ।

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको, पूँजीगत खर्च हुन नसकेको तथा शोधान्तर घाटा बढेकोजस्ता तथ्य पेश गर्दै उनीहरुले गम्भीर दुर्घटना हुनु अगावै निरोधात्मक उपायको अवलम्बन गर्न आग्रह गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको चार महिनामा मुलुकको शोधान्तर रु एक अर्ब ५१ करोडले घाटामा गएको छ । वस्तु तथा सेवाको आयातमा वृद्धि हुँदा नेपाल भित्रने र बाहिरिने रकमबीचको सन्तुलन हुनु जरुरी रहन्छ ।

पछिल्लो समय विदेशी मुद्रा देशभित्र आउनेभन्दा बाहिरिने क्रममा वृद्धि भएको छ । विप्रेषण आप्रवाहमा गिरावट आएको छ । विकास निर्माणको कामले गति लिन नसक्दा तीन खर्ब बढी रकम त्यत्तिकै बसेको छ । त्यसको चाप तरलतामा परेको छ । विलासिलताका वस्तुको आयात बढ्दै जाँदा विदेशी मुद्रा समेतमा चाप परेको छ । यी आदि समस्याको समाधानका लागि सरकारले समयमै पहल लिनुपर्ने अर्थविद्को भनाइ छ ।

प्रतिनिधिसभाको अर्थसमितिले आज आयोजना गरेको ‘नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे’को छलफलमा अर्थतन्त्रका जानकारले विदेशी मुद्राको सञ्चिति बढाउन उपयुक्त क्षेत्रको पहिचान गर्नुपर्नेमा जोड दिएका हुन् । असार मसान्तमा मात्रै पूँजीगत खर्च भएको देखिने प्रवृत्तिलाई रोक्न पनि अहिल्यै खर्च बढाउन चाल्नुपर्ने उपायको खोजी गर्न सरकारलाई सुझाएका हुन् ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीले भने, ‘विगतमा विदेशी विनिमय सञ्चिति पर्याप्त हुने तथा भुक्तानी सन्तुलन कायम हुने गरेको, शोधनान्तर स्थिति राम्रो रहेको र लक्षित राजस्वसमेत उठ्दा अन्य सूचकमा समस्या परेपनि असर देखिँदैनथ्यो, तर अहिले यी सूचक पनि धराशयी भएका छन् ।’

अर्थशास्त्री डा. डिल्लीराज खनालले बैकिङ क्षेत्रको लगानी उत्पादनका क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै पुँजीगत खर्च बढ्नेबित्तिकै बैकिङ क्षेत्रमा नगद प्रवाह हुने भएकाले सरकारले विशेष योजनाका साथ काम गर्न सुझाव दिए ।

राजनीतिक विग्रह र असमाञ्जस्यले अर्थतन्त्रमा समस्या देखिएको तर्क गर्दै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरसमेत रहेका अर्थशास्त्री दीपेन्द्रबहादुर क्षेत्रीले विलासिताका केही वस्तुमा प्रतिबन्ध नै लगाउनुपर्नेमा जोड दिए ।

अर्थशास्त्री पोषराज पाण्डेले राजनीति गतिविधिका अगाडि अर्थतन्त्र निरीह जस्तो भएको महशुस भएको बताए । नेपालको अर्थतन्त्र विप्रेषणले धानेको भनीरहेका बेला उनले भने विप्रेषण नै नेपालको अर्थतन्त्रको विकास र विस्तारमा बाधक बनेर देखा परेको तर्क गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x