Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

विद्युत् मागमा वार्षिक २० प्रतिशतले वृद्धि

विद्युत् मागमा वार्षिक २० प्रतिशतले वृद्धि

काठमाडौं, ५ पुस । प्रभावकारी नीति, व्यावहारिक कार्ययोजनालगायत कारणले आन्तरिक बजारमा विद्युत्को माग उल्लेख्य रूपमा वृद्धि भएको छ । हरेक वर्ष औसतमा २० प्रतिशतका दरले विद्युत्को माग बढेको पाइएको छ ।

विद्युत् खपत बढाउन चालिएका कदम र जाडो बढेसँगै विद्युत्को आन्तरिक माग ह्वात्तै बढेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार गतवर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग (पिक डिमाण्ड) ३०० मेगावाटको हाराहारीमा बढेको छ । आन्तरिक रूपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको छ ।

विद्युतीय चुल्हो, एयर कन्डिशनलगायत विद्युत्बाट चल्ने घरायसी सामानको प्रयोगमा वृद्धि भएको पाइएको छ । सरकारीस्तरबाट चार्जिङ स्टेशन निर्माण प्रक्रिया अगाडि नबढेको भए पनि निजीक्षेत्रले आफ्नै पहलमा चार्जिङ स्टेशन निर्माण गरिरहेका छन् । त्यसले विद्युत्बाट सञ्चालन हुने यातायातका साधनको वृद्धि भएको छ ।
ठूला उद्योगलाई माग अनुसारको बिजुली उपलब्ध गराइएको छ । उद्योगले पर्याप्त विद्युत् पाएका कारण उत्पादन क्षमतामा वृद्धि भएको छ । त्यसबाट दैनिक रूपमा खपत बढिरहेको छ । प्राधिकरणले कात्तिकको अन्तिम सातादेखि नै देशकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत् उपलब्ध गराएको छ । चिनियाँ लगानीको अर्काे हुवासिन सिमेन्ट उद्योगले पनि २० मेगावाट बिजुली जोडेको छ ।

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा विद्युत् माग ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकामा विद्युत्को अधिकतम माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ । गतवर्ष २९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पिक डिमाण्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ । यसले पनि काठमाडौं उपत्यकामा पनि उल्लेख्य रूपमा बिजुलीको मागमा वृद्धि भएको देखिन्छ । उपत्यकामा विद्युतीय चुल्होको प्रयोगमा वृद्धि भएको पाइएको छ । ऊर्जाका मागका आधारमा मङ्सिर २७ गते विद्युत् खपत दुई करोड ७२ लाख युनिट थियो । यो खपत गतवर्षको सोही दिनको दुई करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो । ऊर्जाका आधारमा विद्युत् खपत गतवर्षको तुलनामा २८ दशमलव ६५ प्रतिशतले बढी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x