टीकापुर विमानस्थलको सर्वे, साना जहाजलाई मात्रै उपयोगी
कैलाली, २ माघ। कैलालीको टीकापुर विमानस्थलको नागरिक उड्डयन प्राधिकरणको टोलीले पहिलो चरणको सर्वेक्षण थालेको छ । सशस्त्र द्वन्द्वको समययता उक्त विमानस्थल बन्द छ ।
पुनः सञ्चालनको सम्भाव्यता अध्ययनका लागि प्राधिकरणले सर्वेक्ऋन गराएको हो । इञ्जिनियर रत्नप्रसाद श्रेष्ठ नेतृत्वको टोलीले प्रारम्भिक सर्वेक्षणको काम सुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
विमानस्थल सञ्चालनका लागि लामो समयदेखि प्रयास हुँदै आए पनि मन्त्रालयले चालू आर्थिक वर्षमा आवश्यक संरचना निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेपछि प्राधिकरणको टोली पहिलो चरणको सर्वेक्षणका लागि आएको इञ्जिनियर श्रेष्ठले बताए ।
‘यो अहिलेको प्रारम्भिक चरणको सर्वेक्षण हो। यसैका आधारमा हामीले सम्भाव्यता अध्ययन प्रतिवेदन प्राधिकरणलाई बुझाउँछौं,’ उनले भने, ’त्यसपछि अर्को प्राविधिक टोलीले आवश्यकताका आधारमा सर्वेक्षण गरेपछि विमानस्थल निर्माणको कार्य अगाडि बढ्छ ।’
विमानस्थलको लम्बाइ १ हजार २ सय ५० मिटर रहेकाले ५२ सिट क्षमतासम्मको विमान सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको जानकारी दिए। चौडाइमा भने अलिकति कम हुन्छ कि जस्तो भए पनि टुइनेटर जहाजका लागि भने कुनै समस्या नहुने उनको भनाइ छ ।
‘प्राविधिकरुपमा सफल भयो भने विमानस्थल सञ्चालनमा आउँछ,’ उनले भने,’ विमानस्थल सञ्चालन मात्रै भएर पनि भएन, यात्रुको सम्भावना र स्थानीयवासीको समन्वय र सहकार्य पनि आवश्यक हुन्छ ।’
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सञ्चालन हुँदै आएको हवाइसेवा सशस्त्र द्वन्द्वका बेला बन्द भएको थियो। त्यसपछि सुकुम्बासीको अतिक्रमणमा परेको विमानस्थल टीकापुरका राजनीतिक दल र सरोकारवालाको समन्वयमा खाली गराएर पुनःविमान सञ्चालनको प्रयास भए पनि सफल नहुँदा अहिले विमानस्थल गाइवस्तु चराउने थलो बनेको छ ।
२०७६ सालमा टीकापुर उद्योग वाणिज्य संघले विमानस्थल सञ्चालनका लागि एक सूत्रीय मागसहित टीकापुर महोत्सव गरेको थियो । वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले विमानस्थल सञ्चालनमा आए व्यापारिक दृष्टिकोणले धेरै राम्रो हुने बताए ।