‘अख्तियारको कदमले व्यवसायीलाई हतोत्सायी बनायो’
काठमडौं, १८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी सिमेन्ट उद्योगमाथि भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गरेपछि निजी क्ष्ँेत्रले त्यसको विरोध गरेका छन् ।
उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै सिमेन्ट उद्योगमाथि दायर मुद्दाको विरोध गर्दै अख्तियारको कदमले व्यवसायीलाई हतोत्साही बनाएको टिप्पणी गरेका छन् ।
अख्तियारले खाजी तथा भूगर्भ विभागका उच्च तहका कर्मचारीसहित गत साता ९ वटा सिमेन्ट उद्योगविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
महासंघका अध्यक्ष शेखर गोल्छा, परिसंघका अध्यक्ष विष्णु अग्रवाल र चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विज्ञप्ति जारी गर्दै अख्तियारको मुद्दाले नेपालमा लगानी प्रवर्धन, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रको विकास एवं विस्तारमा नकारात्मक प्रभाव पार्ने दावी गरेका हुन् ।
उनीहरुले सिमेन्ट उद्योगले स्वदेशी कच्चा पदार्थको प्रयोग गर्दै ८० प्रतिशतसम्म मूल्य अभिवृद्धि तिर्दै आइरहेको दावी समेत गरेका छन् ।
सिमेन्टको मुख्य कच्चा पदार्थ चुनढुंगा उत्खननका लागि उद्योगले लिएको अनुमति अनुसार खानी विभागबाट पटकपटक अध्ययन समिति गठन गर्ने र जरिवाना लगाउने काम भएको निजी क्षेत्रको गुनासो छ ।
क्षतिपूर्ति असूलीका अन्य विकल्प एवं कानूनी बाटो अवलम्बन गर्नुको सट्टा सिधै मुद्दामा जानु निजी क्षेत्रलाई निस्तेज पार्ने प्रयास भएको ती संस्थाको भनाइ छ ।