‘अर्थतन्त्रको बिग्रिँदो अवस्थामा तत्काल सुधारको खाँचो’
विराटनगर, २५ फागुन । पछिल्लो समय मुलुकको अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक बन्दै जाँदा यसमा तत्काल सुधारको खाँचो औंल्याइएको छ । मोरङ व्यापार संघले बुधवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाहरूले अर्थतन्त्रमा परिरहेको आर्थिक चाप, शोधनान्तर घाटा, तरलता अभावलगायतले मुलुकको आर्थिक अवस्था संकटग्रस्त भइरहेको उल्लेख गर्दै यसमा सुधार ल्याउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
छलफलमा अर्थशास्त्री डा. भेषप्रसाद धमलाले निरन्तर घटिरहेको विदेशी विनिमय सञ्चिति, बढ्दो शोधनान्तर घाटा, घट्दो रेमिट्यान्स, तरलता अभाव र व्यापार घाटालगायत विषयमा तत्काल सुधार ल्यानुपर्नेमा जोड दिए । सरकार र नेपाल राष्ट्र बैंकको अदूरदर्शी र अस्पष्ट नीतिकै कारण मुलुकमा तरलता अभाव देखिएको उल्लेख गर्दै उनले देशको जनशक्ति विदेश पलायन हुनमा सरकारको अस्पष्ट नीति रहेको बताए ।
कार्यक्रमका अर्का वक्त प्राडा पिके झाले नेपालका आर्थिक नीति प्रभावकारी हुन नसकेको भन्दै विनियोजित बजेटको अधिकांश हिस्सा अनुत्पादन क्षेत्रमा खर्च हुने गरेको बताए । उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्नेमा समेत उनले जोड दिए । कार्यक्रममा संघका उपाध्यक्ष विकास वेगवानी, महासचिव अनिल सारडा, अमित सारडालगायतले अर्थतन्त्रको विधमान समस्याका विविध पक्षमाथि प्रकाश पारेका थिए ।