ओरालोमै झरीरहेको नेप्से
काठमाडौं, २५ । स्टक एक्सेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक बुधबार ३०.२९ अंकले घटेर २५१४.६५ बिन्दुमा झरेको छ ।
सोमबार झिनो अंकले बढेको शेयर बजारमा बुधबार कारोबार रकम समेत घटेको छ । ४९ लाख ५९ हजार ९९१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रूपैयाँको कारोबार भएको छ । जसमा १ सय ७१ कम्पनीको शेयर मूल्य घट्दा १९ कम्पनीको मूल्य वृद्धि भएको छ भने दुई कम्पनीको मूल्यमा परिवर्तन भएको छैन ।
यसअघि आइतबार ३.६६ अंकले घटेर २५४३.३९ बिन्दुमा पुगेको नेप्से परिसूचक सोमबार उतारचढावका बीच १.५४ अंकले बढेर २५४४.९३ बिन्दुमा पुगेको थियो । हिजो मंगलबार भने सार्वजनिक बिदाका कारण बजार बन्द थियो ।
गएको साता तीन दिनको कारोबारमा बजार १ सय १४ अंकले घटेको थियो । यो सातामा अहिलेसम्म तीन दिनको अवस्था हेर्दा बजारले लगानीकर्ताको साथ पाएको छैन । शेयर बजारको बिग्रँदो अवस्था सुधारका लागि गतसाता बुधबार अर्थ मन्त्रालयमा भएको छलफलपछि यो साता सकारात्मक प्रभाव देखिने लगानीकर्ताहरूले आँकलन गरेका थिए ।
लगातार नेप्से परिसूचक बिग्रिरहँदा सेयर बजार बियरिस ट्रेण्डमा जान लागेको संकेत देखिएको छ । बैंकिङ तरलता र ब्याजदरले शेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ । गत भदौ २ नेप्से परिसूचक हालसम्मकै उच्च ३१९९ बिन्दुमा पुगेको थियो । भदौ ३ देखि ओरालो लागेको बजार मंसिरसम्म उच्च बिन्दुबाट ८३७ अंकले तल झरेको उदाहरण छ । मंसिर पहिलो सातामा शेयर बजार २३६१.२७ बिन्दुमा रोकियो । पुसदेखि फागुनको पहिलो सातासम्म आइपुग्दा शेयर बजार २९०० को बिन्दुमा पुगेको थियो ।