चुक्ता पुँजी वृद्धिसंगै वाणिज्य बैंकहरुको निक्षेप संकलन तथा कर्जा प्रवाहमा पनि विस्तार

पूर्ण प्रसाद चौलागाई, २०७५ बैशाख १७ काठमाडौं ।  संचालनमा रहेका २८ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ । सार्वजनिक गरिएका वित्तीय विवरण अनुसार २८ वाणिज्य बैंकहरुको वित्तीय अवस्था सन्तोषजनक रहेका छन् ।

समिक्षा अवधिको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको चुक्ता पुँजीमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार अधिकांस बैंकले तोकिएको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याएका छन् । तर पाँच बाणिज्य बैंकहरु एनएमबि, मेगा, सिभिल, कुमारी र एनसिसि बैंकहरुले भने तोकिएको चुक्ता पुँजी पुर्याएका छैनन् । अन्य २३ वटा वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेको छ । यता यी बैंकहरुले मर्जर, हकप्रद, बोनस र थप नयाँ शेयर मार्फत चुक्ता पुँजी पुर्याउने बताएका छन् ।

चुक्ता पुँजी वृद्धि गरे अनुसार वाणिज्य बैंकहरुले आफ्नो क्षमतालाई समेत अभिवृद्धि गरेको तेस्रो त्रैमासिकको वित्तीय विवरणले पुस्टाएको छ । वाणिज्य बैंकहरुले समिक्षा अवधिमा निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार गरेको छ । यससंगै वाणिज्य बैंकहरुको खुद मुनाफामा आर्जनमा समेत वृद्धि भएको छ । चुक्ता पुँजी वृद्धि गर्दा बैंकहरुलाई क्षमता विस्तार गर्नका लागि दवाव परेको थियो । तर यो दवावलाई बैंकहरुले खेप्न सकेको सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासिकको तुलनमा चालु आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन १६.१९ प्रतिशले बढेको छ । समिक्षा अवधिमा वाणिज्य बैंकहरुले २२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यद्यपी दुई वाणिज्य बैंकहरु स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसविआई बैंकको निक्षेप संकलनमा भने कमी आएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन १९ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो । यस्तै गत आर्थिक वर्षको तेस्रो त्रैमासिकको तुलनमा चालु आर्थिक वर्षको समिक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह २१.०८ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा वाणिज्य बैंकहरुले १९ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १६ खर्ब ४५ अर्ब रुपैयाँ रहेको थियो ।

वाणिज्य बैंकहरुले निक्षेप संकलन र कर्जा प्रवाहलाई मात्र विस्तार गरेको छैन । समिक्षा अवधिमा वाणिज्य बैंकहरुको खुद मुनाफा आर्जनमा समेत सुधार आएको छ । यद्यपी चुक्ता पुँजी वृद्धिको तुलनामा खुद मुनाफा सन्तोषजनक नहुँदा प्रति शेयर आम्दामीमा सन्तुलन कायम राख्न भने सकेको छैन । गत आर्थिक वर्षको तुलनामा वाणिज्य बैंकहरुले यस आर्थिक वर्षको समिक्षा अवधिमा १५.९९ प्रतिशतले खुद मुनाफा आर्जनमा वृद्धि गरेको छ । संचालनमा रहेका २८ वाणिज्य बैंकहरु मध्ये ६ वाणिज्य बैंकहरुको खुद मुनाफामा कमी आएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकले सवैभन्दा बढि खुद मुनाफा आर्जन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

तेस्रो त्रैमासिकको वित्तीय विवरणले चालु आर्थिक वर्षको अन्त्यसम्ममा वाणिज्य बैंकहरुको वित्तीय अवस्था सन्तोषजनक हुने प्रक्षेपण गर्न सकिन्छ । चालु आर्थिक वर्षको सुरुवात देखी नै वित्तीय प्रणालीमा देखिएको तरलता संकुचनको बावजुत पनि वाणिज्य बैंकहरुले खुद मुनाफा आर्जन, निक्षेप संकलन तथा कर्जा प्रवाहमा गरेको सुधारले आगामी दिनमा वाणिज्य बैंकहरुको वित्तीय अवस्था सकारात्मक हुने देखिएको छ । तर पनि केहि बैंकहरुले आफ्नो क्षमतालाई थप अभिवृद्धि गर्न आवश्यक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *