Date

सोम, बैशाख ३१, २०८१
Mon, May 13, 2024

साझाले ल्यायो तीन वटा बिजुली बस

साझाले ल्यायो तीन वटा बिजुली बस


काठमाडौं, ३० चैत । साझा यातायातले परीक्षणका लागि ल्याउन लागेका तीन वटा बिजुली बस तातोपानी नाका आइपुगेका छन । चीनको उकालो सडकमा बिजुली बसको उकालो तान्न सक्ने क्षमता परीक्षण गरेपछि नेपालतर्फ ल्याइएको दी गो’ कम्पनीले जानकारी दिएको हो ।


साझाले पहिलो चरणमा तीन वटा बिजुली बस काठमाडौं ल्याउँदै छ । ती बस काठमाडौं आइपुगेपछि उपत्यकाका सडकमा प्ररीक्षण सफल हुनासाथ बाँकी ३७ वटा पनि आउने साझाले बताएको छ । सीचएपीसीका बस नेपालमा ‘दी गो’ले ल्याएर बिक्री गर्ने गरेको छ ।


साझाले सीएचपीसीसँग प्रति बस डेढ करोड रुपैयाँमा किन्न लागेको हो । साझाले ४० वटा बसमा करिब ६१ करोड खर्चिंदै छ । पहिलो चरणमा ९ मिटर लामो बस किन्न लागिएको र पछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना रहेको बताइएको छ ।
अब २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बस काठमाडौंमा आउनेछन् । यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि हुनेछन् । क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरु थप्ने जाने साझाले जनाएको छ ।


सरकारले ९ पुस ०७५ मा ३ सय वटा बिजुली बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो । सरकारले साझालाई बसहरु किन्न आधारभूत मापदण्ड पनि दिएको थियो । साउन २०७६ मा यातायात मन्त्रालयले हतार(हतार साझालाई खेस्रा मापदण्ड दिएको थियो ।

स्पेसिफिकेसन बन्दै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ असोज २०७६ मा ‘बस किन्ने प्रक्रिया जहाँ पुगेको त्यहीं रोक्नू’ भन्दै पत्र काटेको थियो भने त्यसको चार महिनापछि माघ २०७६ मा साझाको खातामा पुगिसकेको ३ अर्ब रकम ब्याजसहित नै फिर्ता लिने निर्णय गरेको थियो । तर, माघ २०७७ मा सरकारले ३ अर्ब रुपैयाँ फेरि साझालाई नै दिने र बस किन्न अनुमति दिने निर्णय लिएको थियो । सरकारले रकम फिर्ता लगेपछि बाग्मती प्रदेश सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड रकम पनि फिर्ता लिएका थिए ।


सरकारले बस किन्दा चलखेल हुन लागेको आशंका गरेर करिब डेढ वर्ष खेर फालिदिएको थियो । पछि सरकारले साझालाई नै पैसा फिर्ता गरिदिएको थियो । सरकारकै बहुमत सेयर रहेको साझा यातायात सहकारीसँग अहिले ७१ वटा ठूला बस रहेका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x