Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

डिजिटल बैंकिङ एवं भुक्तानीमा फड्को

डिजिटल बैंकिङ एवं भुक्तानीमा फड्को

काठमाडौं, १२ वैशाख । पछिल्लो समय मुलुकमा डिजिटल बैंकिङ ह्वात्तै बढेको छ । विशेषगरी मोबाइल तथा इन्टरनेट बैंकिङका साथै डिजिटल माध्यमबाट हुने भुक्तानी कारोबारमा उच्च वृद्धि देखिएको छ । सरकार र बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल बैंकिङलाई प्रोत्साहन गरिरहेकाले यसको प्रयोग चुलिएको हो । जसमा कोभिड महामारीको समेत सकारात्मक प्रभाव परेको देखिन्छ । सेवा प्रवाहलाई चुस्त, छिटोछरितो र प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले ल्याएका विभिन्न सुविधाले पनि यसलाई बढावा दिएको छ नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए ।

आधुनिक प्रविधिको विकास र यसको पहुँच विस्तारले डिजिटल बैंकिङमा सर्वसाधारण आकर्षित भएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय अभ्यास र समयको माग अनुसार बैंकिङ क्षेत्र क्यासलेस र पेपरलेस बन्दै गएको छ । यद्यपि यसमा चुनौती पनि उत्तिकै छन् । डिजिटल बैंकिङलाई सार्थक तहमा पु¥याउन नियामकीय निकायको सहयोगका साथै बैंक तथा वित्तीय संस्था स्वयंले सक्रियता बढाउनुपर्ने रेग्मीले बताए ।

यसैगरी कोभिडपछि वालेट पेमेन्टजस्ता डिजिटल भुक्तानीले समेत ठूलो फड्को मारेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत फागुनमा मात्रै विभिन्न डिजिटल माध्यमबाट ५१ खर्ब १२ अर्बभन्दा बढीको भुक्तानी कारोबार भएको छ, जसमध्ये सबैभन्दा बढी आरटीजीएसबाट मात्रै ३६ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । डिजिटल भुक्तानी बढ्नुमा पनि नेपाल सरकार र राष्ट्र बैंकले लिएको नीतिगत व्यवस्थालाई प्रमुख कारण रहेको राष्ट्र बैंकका प्रमुख कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए ।

भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न राष्ट्र बैंकले २०७२ असारमा छुट्टै भुक्तानी प्रणाली विभागको स्थापना गरेर नियमन गर्दै आएको छ । यससम्बन्धी छुट्टै ऐन निर्माणका साथै गैरबैंक तथा वित्तीय संस्थालाई समेत भुक्तानी सेवा प्रदान गर्न अनुमति दिइँदै आएको छ । परिवर्तित समयका कारण हाल कुनै पनि वित्तीय एवं व्यावसायिक कारोबार डिजिटल माध्यमबाटै गर्नुपर्ने अवस्था आएको नेपाल क्यियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानल बताए ।
सर्वसाधारणले एकबाट अर्काे खातामा रकम प्रदान गर्न, खानेपानी, विद्युत्, टेलिफोनलगायत युटिलिटी पेमेन्ट, सपिङलगायतमा डिजिटल माध्यमबाटै कारोबार हुन थालेको छ । यद्यपि डिजिटल कारोबार अझै पनि शहरबजार केन्द्रित नै देखिन्छ । यसलाई दूरदराजसम्म पु¥याउन सेवाप्रदायक र नियामक निकायबीचको सहकार्य, समन्वय र सक्रिय पहलको खाँचो रहको उनको भनाइ छ ।


त्यसो त प्रविधिको प्रयोगले भुक्तानी कारोबार सहज बन्दै गर्दा सुरक्षा सम्बन्धी जोखिम पनि छन् । कारोबारमा प्रयोग हुने प्रविधिगत कमीकमजोरीले जोखिम आउन नदिन भुक्तानी प्रदायक, नियमनकारी निकाय र सर्वसाधारण समेत सचेत हुन आवश्यक छ । डिजिटल भुक्तानीलाई सुरक्षित र विश्वसनीय बनाउनु नियामक र सेवाप्रदायकको दायित्व भएको कार्यकारी निर्देशक पौडेलले बताए ।

नेपाल राष्ट्र बैंकका अनुसार गत फागुनसम्ममा मोबाइल बैंकिङका ग्राहक १ करोड ६८ लाख ४८ हजार नाघेका छन्, जुन कुल निक्षेप खाताको करीब ४० प्रतिशत हो । मोबाइल बैंकिङपछि सेवाग्राहीको आकर्षण बैंकहरूले जारी गरेका कार्डहरूमा छ । सो अवधिमा डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्डवाहक ग्राहक १ करोड ५५ लाखभन्दा बढी छन् । यस्तै १६ लाख ९ हजारभन्दा बढीले इन्टरनेट बैंकिङ सुविधा लिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x