ततोपानीस्थित लार्चा बन्दरगाह एक वर्षभित्रै निर्माण
काठमाडौं, २३ वैशाख । चीन सरकारको सहयोगमा निर्माण हुन लागेको तातोपानीस्थित लार्चा बन्दरगाह एक वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक एण्ड कमर्सियल कन्सुलर झाङ फान र नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतबीच एक वर्षभित्र बन्दरगाह पुनर्निर्माण गरी सञ्चालनमा ल्याउने सहमति भएको हो । बाढी र भूकम्पका कारण बन्दै गरेको संरचना क्षति भएपछि पुनर्निर्माणका लागि चीन सरकारले विपद्पछिको पुनरोद्धार तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत थप सहयोग प्रतिवद्धता गरेको थियो । यसअघिको निर्माण कम्पनी बेइजिङ रियलस्टेट भने उक्त संरचना पुन निर्माण गर्नुपर्ने भएपछि त्यसबाट हात झिकेको छ ।
चीन सरकारको सहयोगमा पुननिर्माण हुने यस आयोजनाका लागि चाइना रेल्वे ब्यरो १४ लाई निर्माण कम्पनी छनौट गरिएको छ । पहिलो चरणमा निर्माणस्थलबाट भत्केका संरचना पन्छाउने तथा निर्माणका लागि आधारभूत कामहरु सम्पन्न गरिएको थियो । पुनर्निर्माणको लागत १४ करोड ७० लाख युआन रहेको बताइएको छ । नेपाल सरकार वाणिज्य मन्त्रालय र चिनियाँ पक्षबीच सुख्खा बन्दरगाहको पुनर्निर्माण अघि बढाउन गत वर्ष चैत महिनामा सम्झौता भएपनि निर्माण सामग्रीको भन्सार छुट लगायत आवश्यक गृहकार्यका लागि झण्डै एक वर्ष बितेको छ । चिनियाँ दूतवासका कन्सुलर फानले पुनर्निर्माणका लागि हालै भएको सम्झौता अनुसार आगामी वर्ष चैत्र अन्तिमसम्म सुख्खा बन्दरगाह नेपाललाई हस्तान्तरण गरिनेछ । यसैबीच भूकम्पपछि बन्द रहेको तातोपानी व्यापारिक नाकालाई पनि छिट्टै खुलाउने गृहकार्य भैरहेको छ ।