Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

इन्धनको मूल्यवृद्धिले विद्युतीय स्कुटर र मोटरसाइकलप्रति उपभोक्ता

इन्धनको मूल्यवृद्धिले विद्युतीय स्कुटर र मोटरसाइकलप्रति उपभोक्ता

काठमाडौं, ११ जेठ । विद्युतीय सवारीको प्रवर्द्धन गर्ने नीति सरकारले अवलम्बन गरेको छ ।

त्यहीअनुरुप विद्युतीय सवारीमा लाग्ने कर इन्धन सवारीको तुलनामा न्यून रहेको छ । विद्युतीय कारको तुलनामा विद्युतीय मोटरसाइकल तथा स्कुटर धेरै पहिले नेपाली बजारमा भित्रिएपनि अपेक्षाकृत बिक्री बढ्न सकेको थिएन ।

पेट्रोलिय पदार्थको अत्याधिक मूल्यबृद्धिले उपभोक्तामा विद्युतीय सवारी प्रतिको आकर्षण बढ्दो छ ।

नेपाली बजारमा हाल दुई दर्जनभन्दा बढी विद्युतीय स्कुटर तथा मोटरसाइकल उपलब्ध रहेका छन्। पछिल्लो समय शक्तिशाली ब्याट्री तथा रेन्जसमेत बढेकाले विद्युतीय मोटरसाइकल तथा स्कुटरको बिक्री बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा नेपाली बजारमा विभिन्न मुलुकबाट २ हजार २ सय ६५ वटा विद्युतीय स्कुटर तथा मोटरसाइकल आयात भएको भन्सार विभागको तथ्यांक छ । उक्त स्कुटर तथा मोटरसाइकल २४ करोड रुपैयाँ बराबरको हो भने त्यसबापत सरकारले ५ करोड ८३ लाख रुपैयाँ राजस्व उठाएको थियो ।

गत आर्थिक वर्ष २०७७÷७८ को तुलनामा चालु आर्थिक वर्ष २०७८÷७९ को ९ महिनामा विद्युतीय स्कुटर तथा मोटरसाइकलको आयात धेरै भएको तथ्यांक छ । चालु आर्थिक वर्षको ९ महिनामा २ हजार ३ सय ९४ वटा विद्युतीय स्कुटर तथा मोटरसाइकल आयात भएको हो । यी स्कुटर तथा मोटरसाइकलको आयात मूल्य २५ करोड १६ लाख रुपैयाँ रहेको छ। त्यस्तै सो स्कुटर तथा मोटरसाइकल आयात हुँदा सरकारले ६ करोड १० लाख रुपैयाँ राजस्व उठाएको हो ।

नेपाली बजारमा चीन तथा भारतसहित अन्य मुलुकबाट समेत विद्युतीय स्कुटर तथा मोटरसाइकल आयात हुँदै आएको छ । नेपाली बजारमा विद्युतीय स्कुटर आयात हुन थालेको एक दशक भइसकेको छ । जुन अनुपातमा विद्युतीय स्कुटरका ब्रान्ड र मोडल भित्रिएका छन्, त्यो अनुपातमा बिक्री भने बढ्न सकेको छैन । पछिल्लो समय भने दुई दर्जनभन्दा बढी ब्रान्ड भित्रिसक्दा बिक्री संख्या पनि बढ्न थालेको व्यावसायीहरूले बताएका छन् ।

विगतमा विद्युतीय मोटरसाइकल तथा स्कुटर बिक्रीमा साना तथा स्टार्टअप व्यावसायीहरू संलग्न थिए । अहिले भने यसतर्फ ठूला व्यावसायिक घरानाले समेत नयाँ नयाँ ब्रान्ड भित्र्याउन थालेका छन् । यसले पनि विद्युतीय स्कुटर तथा मोटरसाइकलको व्यापार बढ्ने अनुमान गर्न थालिएको छ। तथ्यांकले समेत उक्त कुरालाई पुष्टि गर्छ ।

सुरुवाती समयमा विद्युतीय स्कुटर पावर र लुक्सका कारण धेरैको रोजाइमा पर्न सकेको थिएन । समय र प्रविधिको विकाससँगै स्कुटरमा प्रयोग हुने ब्याट्रीको क्षमता बढ्न थाले। साथै विद्युतीय स्कुटर तथा मोटरसाइकल इन्धनबाट चल्नेजस्तै स्टाइलिस र आकर्षक हुन थालेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x