Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

आयातमा कडाइ गर्न बढ्दैछ भन्सार दर

आयातमा कडाइ गर्न बढ्दैछ भन्सार दर

काठमाडौं, १२ जेठ । सरकारले अगामी बजेटमार्फत भन्सारको दरमा केही परिवर्तन गरेर आयातलाई निरुत्साहित गर्ने नीति लिने भएको छ । अत्यावश्यकबाहेक बढाउन मिल्ने वस्तुहरूको भन्सार दर बढाउने गरी अर्थ मन्त्रालयले काम गरेको छ । अर्थले दर्जनभन्दा बढी वस्तुको आयातको भन्सार दर परिवर्तन गर्न लागेको हो ।

राजस्व परामर्श समितिले समेत आयात घटाउने र स्वदेशी उत्पादनलाई जोड दिनेगरी करको दर हेरफेर गर्न सुझाव दिएको थियो ।

संसदमा मंगलबार सार्वजनिक गरिएको सकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आउँदो दशकलाई नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि दशकको रुपमा मनाउने घोषणा गरेको छ । सरकारले नेपालमै उत्पादन हुनसक्ने वस्तुहरूको सूची नै बनाएर आयातमा रोक लगाउने तथा करको दर बढाउने नीति लिएको छ ।

कुन–कुनमा बढ्न सक्छ कर?

विश्व व्यापार संगठनको सदस्य भएको नाताले गाडीलगायत केही वस्तुको आयातमा भन्सार दर बढाउने अवस्था नरहन सक्छ । तर बढाउन मिल्ने सवारीमा तथा अन्य वस्तुहरूमा भन्सार दर बढाउने तयारी छ । इलेक्ट्रिक गाडीमा समेत केही कर लगाउने तयारी सरकारले गरेको छ । खासगरी दुईपाँग्रे सवारीमा करको दर परिवर्तन हुनसक्ने छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार मोटरसाइकलमा ४० प्रतिशतसम्म भन्सार लगाउन सक्ने अवस्था छ । हाल मोटरसाइकलमा ३० प्रतिशत भन्सार लाग्दै आएको छ। सरकारले १० प्रतिशत थप भन्सार शुल्क मोटरसाइलमा लगाउन सक्ने छ ।

अर्थ मन्त्रालयले खाद्यवस्तुमा समेत भन्सार दर बढाउने तयारी गरेको छ ।

जिउँदो जनावरमा समेत भन्सार लगाउने तयारी गरेको छ । यसअघि १० प्रतिशत मात्रै लाग्दै आएकोमा सत प्रतिशतसम्म वृद्धि गर्ने तयारी गरेको छ । नेपालले जिउँदो जनावर ल्याउनका लागि ७० प्रतिशतसम्म भन्सार लिन सक्ने छ । भैँसी, खसी, च्यांग्रा लगायतको आयातलाई निरुत्साहित गर्नैपर्ने भएकोले भन्सार दर वृद्धिको विकल्प नभएको अर्थ मन्त्रालयको निष्कर्ष छ ।

नेपालमै उत्पादन गर्न सकिने डाइपर, स्यानिटरी प्याड, जुत्ता चप्पललगायतका वस्तुमा पनि भारी रुपमा भन्सार वृद्धि गरेर स्वदेशी उत्पादन कम्पनीलाई सरकारले विशेष सहुलियत दिने तयारी गरेको छ ।

आयातको सामान महँगो पर्ने र नेपालमा उत्पादन भएका वस्तु सस्तोसँगै गुणस्तरिय रुपमा दिन सकियो भने डलर बाहिरिने क्रम रोकिने अर्थ मन्त्रालयका अधिकारीहरूको बुझाइ छ । ‘स्वदेशमा सस्तोमा राम्रो उत्पादनमा जोड दिनका लागि भन्सार दर नै बढाउने हो,’ अर्थ मन्त्रालयका ती अधिकारीले भने ।

धान, चामल र मकैमा प्रतिकिलो ९ रुपैयाँ भन्सार लाग्दै आएकोमा त्यसमा पनि वृद्धि गर्ने तयारी सरकारले गरेको छ । अर्थ मन्त्रालयले पाम तेल, सूर्यमुखीको तेल र भटमासको तेलमा पनि अधिकतम सीमाभित्र रहेर ३५ प्रतिशतसम्म महसुल लगाउने तयारी गरेको छ ।

सुनचाँदी आयातमा ठूलो रकम बाहिरिएको निष्कर्ष अर्थ मन्त्रालयले निकालेको छ । प्रति १० ग्राम सुनको आयातमा ५ हजार रुपैयाँ र चाँदीमा १०७ रुपैयाँ भन्सार लाग्दै आएको छ । सुन र चाँदीको आयातमा खरिद मूल्यको २० प्रतिशतसम्म भन्सार लगाउने तयारी अर्थ मन्त्रालयले गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x