अब मौसम सफा नभए आन्तरिक उडान गर्न नपाइने

काठमाडौं, १८ जेठ । अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने निर्णय गरेको हो ।
दुई दिनअघि मुस्ताङको खासाङमा तारा एयरको विमान दुर्घटना भएसँगै प्राधिकरणले यस्तो निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार अहिलेसम्म विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा उडान अनुमति दिँदै आएको थियो । उडानको बाटोलाई भने समेटिदैन थियो ।
अबदेखि भने इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको हो । इनरुट भन्नाले विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटो समेतलाई जनाउँछ । ती सबै स्थानको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय प्राधिकरणले गरेको हो । यो निर्णयले हवाई दुर्घटना कम गर्न मद्दत मिल्ने उनको भनाई छ ।