Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लामो समयपछि शेयर बजारमा उछाल

लामो समयपछि शेयर बजारमा उछाल

काठमाडौं, २५ जेठ । लामो समयपछि शेयर बजारमा उछाल देखिएको छ । ७ दिनसम्म लगातार ओरालो लागेको शेयर कारोबार मापक नेप्से यो साताको कारोबार हुने तश्रो दिन आज बुधबार ६०.२२ अंकले बढेर बजार २ हजार ८०.४४ बिन्दुमा पुगेको छ ।

यो अघिल्लो दिनको तुलनामा २.९८ प्रतिशतले बढी हो ।

कूल २३१ कम्पनीको ३० हजार ६८४ कारोबारबाट १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँ बराबरका ५० लाख ५ हजार ८१४ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार भएका १३ कम्पनी समूहका सबै उपसुचकमा सुधार आएकाले नेप्सेमा हरियो चिन्ह् देखिएको हो ।

गएको साता पाँच दिनको कारोबारमा १४५.०९ अंकको गिरावट देखिएको बजारमा यो साताको पहिलो कारोबारमा सोमबार १२.९२ अंकको गिरावट देखिएको थियो भने मंगलबारसमेत ४५.५९ अंकले झर्दै बजार २०२०.२३ बिन्दुमा पुगेको थियो ।

बुधबार भने बजारमा सुधार देखिएको छ । उतारचढावमा देखिँदै ६०.२२ अंकले बढेको बजारमा १ अर्ब ६४ करोड रुपैयाँको कारोबार भयो । जहाँ १ सय ९३ कम्पनीको शेयर मूल्य बढ्दा २ कम्पनीको मूल्यमा भने गिरावट देखियो ।

शेयर बजारका संगठित लगानीकर्ताहरूले सेयर बजार सुधारका लागि भन्दै सरोकारवालासँग निरन्तर कुराकानीका साथै विरोधसमेत गरिरहेका छन् । तर बजारले सुधारका सूचक नभेट्दा आम लगानीकर्ता विश्वस्त हुन सक्ने आधार भेटिएको छैन ।

आज बुधबारमात्रै अर्थमन्त्री जनार्दन शर्माले मोद्रिक नीतिमार्फत सेयर लगानीकर्ताको माग सम्बोधन गर्ने बताएका थिए । नेपाल धितोपत्र बोर्ड स्थापनाको ३० औँ वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पुँजी बजार सुधारको कामका लागि प्रयासहरू भइरहेको बताएका हुन् ।

लगानीकर्ताको हित र संरक्षणमा सरकार लागिपर्ने बताउँदै दीर्घकालीन सुधारमा लाग्न समेत उनले आग्रह गरेका थिए। मौद्रिक नीतिमा आएका केही गुनासाहरू सुनेर त्यसको सुधार गर्नुपर्नेमा आफू जानकार रहेकोसमेत उनले बताएका थिए ।

अर्थमन्त्रीको सम्बोधनकै दिन बजारमा देखिएको वृद्धिले मोद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्तामा विश्वास फर्कन थालेको विश्लेषण भइरहेको छ ।

शेयर बजार बढ्ने घट्ने भइरहने भएकोले यसमा लगानीकर्ता सचेत हुनुपर्नेमा अर्थमन्त्री शर्माले समेत जोड दिएका छन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले समेत नेपाल पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटका क्रममा पुँजी बजार सुधारका लागि पहल गर्ने बताएका थिए । उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आम लगानीकर्ताको समस्या सुन्ने मात्र नभइ उचित समाधान र समस्याको पहिचान गरी कार्यान्वयन गर्नसमेत निर्देशन दिएका थिए । जसले गर्दा अबका दिनमा सकारात्मक प्रभाव पर्ने शेयर विश्लेषक नवराज अधिकारी बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x