स्वास्थ बीमाको भुक्तानी नपाएपछि सेवा दिन कठिनाइ
काठमाडौं, ४ असार । सरकारले लागू गरेको स्वास्थ्य बीमा अभियानअन्तर्गत धुलिखेल अस्पतालमा उपचार सेवा लिएका बिरामीको नाममा पाउनुपर्ने रकम बीमा बोर्डबाट नपाएका कारण अब सेवा दिन कठिनाइ भएको धुलिखेल अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनले बिहीबार पत्रकार सम्मेलन गरी २०७४ सालदेखि बीमा बोर्डसँग सम्झौता गरी स्वास्थ्य बीमा गरेका नागरिकलाई सेवा उपलब्ध गराउँदै आएको भए पनि अहिलेसम्म बोर्डमार्फत प्राप्त गर्नुपर्ने करिब रु २५ करोड रकम प्राप्त नहुँदा अस्पतालबाट प्रवाह हुने सेवामा समस्या उत्पन्न हुने अवस्थामा पुगेको जानकारी दिएको छ । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक रमेश माकाजु श्रेष्ठले बीमाको कारण समस्या भएको उल्लेख गर्दै सेवामा विचार गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
बीमा बोर्डबाट पाउनुपर्ने रकम अबको १५ दिनभित्रमा भुक्तानी नभएमा अस्पतालबाट आङ्शिक सेवा मात्रै उपलब्ध हुने र असार मसान्तसम्ममा भुक्तानी नभएमा साउन १ गतेदेखि बीमा सेवालाई निरन्तरता दिन नसकिने अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले सेवा प्रदान गरेकामध्ये एक लाख २८ हजार २४५ सेवाग्राहीको सेवावापतको रकम प्राप्त हुन बाँकी छ ।