निजगढमा दुई धावनमार्ग सहितको विमानस्थल बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, १८ असार । शेरबहादुर देउवाले बाराको निजगढमा दुई धावनमार्गसहितको विमानस्थल निर्माण गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरूको टोलीले निजगढ विमानस्थलको शनिवार स्थलगत निरीक्षणपछि यस्तो निर्देशन दिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । प्रधानमन्त्री देउवाका साथै गठबन्धन दलका शीर्ष नेताहरुले विमानस्थल बनाउनुपर्नेमा जोड दिएको अधिकारीको भनाइ छ ।
निजगढ विमानस्थल निर्माणस्थलको अवलोकनका लागि प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसहितका नेताहरु शनिवार निजगढ पुगेको प्राधिकरणले बताएको छ ।