सुनचाँदी व्यवसायका लागि आवश्यक नीति बनाउन सरकार तयार छ : मन्त्री वडु
काठमाडौं, २९ असार । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले सुुनचाँदी व्यवसाय सञ्चालनका लागि आवश्यक नीति बनाउन सरकार तयार रहेको बताएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा आज गएको महासंघको प्रतिनिधीमण्डल सँगको भेटका क्रममा मन्त्री वडुले आम उपभोक्ता र व्यवसायीहरुको हक अधिकारको सुनिश्चितताका लागि सरकार प्रतिवद्ध भएको बताएका छन् ।
मन्त्री वडुले सुनचाँदी ब्यवसायीले उठाउँदै आएको सुनचाँदी कारोबार ऐन तर्जुमाका लागि मन्त्रालयका तर्फवाट सिघ्र पहल गर्न पनि सम्वद्ध निकायलाई निर्देशन दिएका छन् ।
त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी व्यवसायको क्षेत्रमा देखिएको विभिन्न समस्याको बारेमा मन्त्री वडुलाई जानकारी गराएको महासंघका प्रवक्ता मनोज कुमार शाहले बताए । उनका अनुसार भेटकाक्रममा कच्चा पदार्थको आपूर्तिको अवस्था, सुनचाँदीको मूल्य निर्धारण प्रकृया, कालिगढको व्यवस्थापन, व्यवसायीक सुरक्षा लगायतका विषयमा छलफल भएको थियो ।
मन्त्री वडुसँगको भेटकाक्रममा अध्यक्ष शाक्यका अलावा महासंघका उपाध्यक्ष द्धय विपिन रामुदामु र पवन कुमार सोमानी लगायतको सहभागिता रहेको थियो ।