आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक
काठमाडौं, ६ असार । नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्ष २०७९/०८० को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा प्रधानमन्त्री देउवालाई बिफ्रिङ गर्नुभएको थियो ।
अन्तिम ड्राफ्टलाई प्रधानमन्त्री देउवाले स्वीकृति दिएसंगै आज विहान ८ बजेका लागि सञ्चालक समितिको बैठक आव्हान गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । मौद्रिक नीति राष्ट्र बैंकको सञ्चालक समितिबाट पास गर्नुपर्ने व्यवस्था छ। संचालक समितिको सो बैठकबाट पास भएपछि गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने छन् ।
राष्ट्र बैंकले चालू बर्षका लागि बाह्य क्षेत्र र वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर कसिलो मौद्रिक नीति ल्याउने जनाउ यस अघिनै दिइसकेको छ । निरन्तरको बढ्दो शोधनान्तर घाटा र व्यापार घाटा, उच्च दरले घटिरहेको विदेशी मुद्रा सञ्चितिलगायत कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा छ । अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रमा वित्तीय स्थायित्व र मूल्य वृद्धि वाञ्छित सीमा राख्नुपर्ने ठुलो चुनौती राष्ट्र बैंकलाई छ । तर उद्योगी, व्यवसायीहरुले भने अहिले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले सन्तुलित मौद्रिक नीति ल्याउनुपर्नेमा पक्षमा छन् ।