सरकारको महिना दिनको कमाइ ९२ अर्ब, खर्च ?
काठमाडौं, ५ भदौ । सरकारले साउन महिनामा ९२ अर्ब १२ करोड ३२ लाख रूपैयाँ आम्दानी गरेको छ । यो महिनामा करबाट मात्र ८० अर्ब ८२ करोड ७९ लाख रूपैयाँ उठेको हो ।
चालू आर्थिक वर्षको पहिलो महिनामा ७९ करोड ३० लाख रुपैयाँ अनुदानबाट प्राप्त भएको छ भने अन्य प्राप्ति १० अर्ब ५० करोड २३ लाख रूपैयाँ रहेको छ । सरकारले लक्ष्यको ६.३२ प्रतिशत आम्दानी गरेको हो ।
चालू वर्षमा १४ खर्ब ५८ अर्ब आम्दानी गर्ने लक्ष्य सरकारको छ । सरकारले एक महिनामा २४ अर्ब खर्च गरेको छ । जसमा विकास खर्च १ अर्ब ५० करोड ८५ लाख रूपैयाँ रहेको छ । सरकारले यो वर्षका लागि विकास खर्चको नाममा ३ खर्ब ८० अर्ब रूपैयाँ छुट्याएको छ ।चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँ खर्च गर्ने र १४ खर्ब ५८ अर्ब रूपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।