Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

पाँच वर्षमा प्रतिव्यक्ति आय २,००० डलर, ५००० मेगावाट विजुली र पर्याप्त रोजगारी

पाँच वर्षमा प्रतिव्यक्ति आय २,००० डलर, ५००० मेगावाट विजुली र पर्याप्त रोजगारी

काठमाडौं, ७ जेठ । सरकारले आफ्ना नीति तथा कार्यक्रम संसद् समक्ष पेश गरेको छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेकी हुन् । नीति तथा कार्यक्रमले आर्थिक संवृद्धिको मार्गमा अघि बढ्नका लागि भौतिक पूर्वाधारहरुको विकास, उत्पादन तथा उत्पादकत्व वृद्धि, सेवाको गुणस्तरीयतामा जोड दिएको छ । सरकारले नीति तथा कार्यक्रमको आधारमा रहेर बजेट निर्माण गर्ने गर्छ । सरकारले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंकको नजिक पुर्याउने र पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने बताएको छ ।
त्यस्तै प्रतिव्यक्ति आय २ हजार डलरभन्दा माथि पुर्याउने, पाँच वर्षमा पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने, सार्वजनिक यातायातमा समेत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने र तिनीहरुलाई चौबीसै घण्टा विद्युत् आपूर्ति गर्ने उल्लेख गरेको छ । आर्थिक गतिविध बढाउनका लागि लगानी अभिवृद्धि गर्ने, राष्ट्रिय आयको ठूलो हिस्सा सीमित वर्गमा रहने परम्परालाई अन्त्य गर्दै धनी र गरिबबीचको आय असमानताको खाडल घटाउने, पर्यटन पूर्वाधारहरुमा व्यापक सुधार गर्ने, कृषि उत्पादनलाई दोब्बर बढाउने लगायतका योजना अघि सारिएका छन् ।
परिणाममा आधारित बजेट विनियोजन र योजनाका लक्ष्यहरु समयमै हासिल गर्न निरन्तर अनुगमनलाई जोड दिइएको छ । राजनीतिक संक्रमण अन्त्य भई स्थिर सरकार बनिसकेको परिप्रेक्ष्यमा पूर्ण आवधिक योजना निर्माण गर्ने विषयलाई प्राथमिकता दिइएको छ । स्वदेशी उत्पादनहरु, चिनी, सिमेन्ट, छाला जुत्ता तथा औषधी उत्पादनमा आत्मनिर्भर बनाइनुका साथै सिमेन्ट निर्यातलाई प्रवद्र्धन गरिने भएको छ ।
सरकारले केही आयोजनाहरु आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने भएको छ । निर्माणको क्रममा रहेका मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, काठमाडौं तराई द्रुतमार्ग पाँच वर्षभित्र सम्पन्न हुनेछन् भने भैरहवाको गौतम बुद्ध विमानस्थल र पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल क्रमशः आगामी एक वर्ष र तीन वर्षभित्र निर्माण सम्पन्न गरिने भएको छ । पाँच वर्षभित्र मुलुकमा पर्याप्त रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गरिने भएको छ । यसका लागि प्रधानमन्त्री रोजगार परियोजना सञ्चालन गरिने भएको छ । आगामी पाँच वर्षभित्र सबै स्थानीय निकायका मुकामका कालोपत्रे सडक र इन्टरनेट सेवा पुर्याइने भएको छ ।
सरकारले स्वास्थ्यमा प्रतिकूल असर पार्ने र अर्थतन्त्रमा प्रतिकूल असर पार्ने वस्तुहरुको आयातमा नियन्त्रण गर्ने तथा सिन्डिकेट र कार्टेल अन्त्य गर्ने तथा बजारमा प्रतिस्पर्धा प्रवद्र्धन गर्ने नीति लिनेछ । त्यस्तै, उच्च क्षमताका विद्युत् प्रसारणलाइन परियोजनाहरु र महत्वाकांक्षी रेलमार्गका योजनाहरु पनि नीति तथा कार्यक्रममा समावेश छ । पूर्व पश्चिम रेलमार्ग, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण गरिने विषयलाई प्राथमिकता दिइएको छ । शिक्षामा सुधारका लागि निजी क्षेत्रको शिक्षालाई नियमन गरी शैक्षिक क्षेत्रमा मौलाएको विषमतालाई अन्त्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । शक्तिशाली कम्युनिष्ट सरकार गठन भएपछि यसले दुई ठूला परियोजनालाई कम्युनिष्ट नेता स्वर्गीय मदन भण्डारीको नामबाट अघि बढाउने भएको छ । पूर्व झापा शान्तिनगरदेखि पश्चिम डडेलधुरा रुपालसम्म मदन भण्डारी राजमार्ग निर्माण गर्न लागिएको हो । त्यस्तै मदन भण्डारीकै नाममा विश्वस्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठा स्थापना भएको छ । नीति तथा कार्यक्रमले सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम उपयोग तथा जनशक्तिको सीप विकासलाई प्राथमिकतामा राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x