शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सुनचाँदी महासंघको माग
काठमाडौं, १० भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।
महासंघका प्रवक्ता मनोज कुमार साहको जनकपुरधाम ६ स्थित घरमा भदौ ६ गते सोमबार बिहान करिब ४ः३० बजे अज्ञात सशस्त्र समूह प्रवेश गरी डकैती गरेको थियो । महासंघले एक विज्ञप्ति जारी गर्दै सो घटना प्रति ध्यानाकषर्ण भएको जनाएको हो ।
‘आफ्नो पेशा व्यसायमा संलग्न व्यक्तिको घरमा यसरी डकैती हुनु अत्यन्त दुःखद् घटना हो । यस्ता सांघातिक घटना यस अघि पनि मुलुकका विभिन्न सुनचाँदी व्यवसायीहरु माथि बारम्बार हुँदै आएका छन् । यस्ता घटनाले आम सुनचाँदी व्यवसायीहरुको आत्मबल समेत कमजोर बनाएको छ,’ महासंघका कार्यवाहक महासचिव किरणभाई वज्राचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
मुलुकमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउनु र दोषीलाई अबिलम्ब प्रकाउ गरी सशक्त कारबाही गर्न महासंघले नेपाल सरकारसँग माग समेत गरेको छ । लुटेराहरुले डकैती गरिरहेका बेला प्रतिकार गर्न जाने क्रममा लडेर प्रवक्ता साहका बुबाको कम्मरको हड्डी समेत भाँचिएकोले हाल उनको ललितपुर स्थित बि एण्ड बि अस्पतालमा उपचार भईरहेको छ ।