ढुवानी भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन गर्ने
काठमाडौं, २२ भदौ । ढुवानी भाडा वृद्धिको माग गर्दै पेट्रोलियम ढुवानी व्यवसायी महासंघले फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए ।
बुधबार बसेको महासंघको बैठकले ‘तत्काल ढुवानी भाडा वृद्धिको निर्णय नगरिए आन्तरिक तथा वाहृय दुवै प्रकारको पेट्रोलियम ढुवानी २५ गतेबाट रोक्ने निर्णय गरेका छौं,’ अध्यक्ष बोहोराले भने, ‘हामीसँग भएका सबैखाले माग र सहमति कार्यन्वनयन नभएपछि वाहृय भएर आन्दोलनका कार्यक्रम घोषणा गरेका छौं । यो निर्णायक आन्दोलन हो ।
महासंघले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा वाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी अनुमति नलिने र असोज एक गतेबाट देशभरको ढुवानी ठप्प बनाउने अध्यक्ष बोहोराले बताए ।
ढुवानी भाडा वृद्धिका लागि यसअघि चार पटक आन्दोलन गरिएको र त्यसमा निगमले पटक पटक सहमति जनाएर पनि कार्यन्वयन नभए पछि पाँचौं पटक आन्दोलनको घोषणा गर्नुपरेको महासंघको भनाइ छ । निगमले ढुवानी भाडा बढाउन यस अघि ९ पटक समझदारी गरेर पनि पुरा नगरेको अध्यक्ष बोहोराले आरोप लगाए । महासंघले रुटअनुसार कम्तीमा ३ देखि १० प्रतिशतसम्म ढुवानी भाडा बढाउन माग गर्दै आएको छ ।