हरित र दिगो पूर्वाधार लगानी प्रवद्र्धनका लागि सिफ–२०२२ आयोजना हुँदै
काठमाडौं, २७ भदौ । दिगो विकास लक्ष्य प्राप्तिका लागि जीआरआईडी हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने उद्देश्य लगानी बोर्ड नेपालले सस्टेनेबल इन्फ्रास्ट्रक्चर फोरम २०२२ आयोजना गर्ने भएको छ । सम्मेलन यही भदौ २९ गते काठमाडौँमामा आयोजना हुँदै छ ।
नेपालले विश्व जलवायु सम्मेलन (कोप–२६) मा नेट जीरो कार्बन अर्थात् शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि जाहेर गरेको प्रतिबद्धताका लागि साधन स्रोतको परिचालनमा उक्त फोरम कोशेढुंगा सावित हुने लगानी बोर्डले अपेक्षा गरेको छ ।
यक्त सम्मेलनको उद्देश्य हासिल गर्ने पक्षलाई विचार गर्दै लगानीकर्ता÷निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैंक तथा वित्तीय संस्था, विज्ञ÷विशेषज्ञ, सञ्चारक्षेत्र लगायत सरोकारवालाहरू साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशिष्ठ व्यक्तित्वहरू, विकास तथा पूर्वाधार क्षेत्रका विज्ञहरूको सहभागितालाई जोड दिइएको छ ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले गर्नेछन् । यस कार्यक्रममा सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाहरूको बारेमा विज्ञहरू बीचमा सैद्धान्तिक बहस हुने लगानी बोर्ड नेपालले बताएको छ ।
रणनीतिक योजना तथा लगानीकर्ताका लागि व्यवसायिक निर्देशिका (विजनेस गाइड) सार्वजनिक गरी गत वर्ष लगानी बोर्डले दशौं वार्षिकोत्सवको कार्यक्रम आयोजना गरेको र उक्त रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा यस कार्यक्रमले उक्त रणनीतिक योजनाको उद्देश्य हासिल गर्न समेत सार्थक हुने अपेक्षा गरिएको छ ।