विश्व पर्यटन दिवस मनाइँदै
काठमाडौं, ११ असोज । आज सेप्टेम्बर २७ अर्थात् ४३औं विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो ।
‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ कोभिडपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् । दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा ४३औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।
काठमाडौँ, पोखरा, लुम्बिनीलगायतका पर्यटकीय गन्तव्यमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको निर्देशक लामिछानेले जानकारी दिए । दिवसको अवसरमा बिहान राजधानी काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा प्रभातफेरी आयोजना गरिएको छ ।
यस्तै बिहान ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अगुवाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानमा आउने विदेशी पर्यटकलाई स्वागत गरिएको थियो । नेपाल पर्यटन बोर्ड र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकोको सहकार्यमा कागेश्वरीधाम वडा नं १ स्थित गागलफेदीमा वृक्षरोपण एवं सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ पर्यटन मन्त्रालय, मातहत निकाय तथा बोर्डका उच्च अधिकारी, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको बोर्डले जनाएको छ ।
दिउँसो बोर्डको सभाहलमा औपचारिक समारोह आयोजना हुने र त्यहाँ सबैभन्दा बढी पर्यटक भित्र्याउने कम्पनीलाई सम्मान गरिने कार्यक्रम छ । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ ।
कोभिडपछिको पर्यटन पुनरुत्थान कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार र व्यवसायीबीचको साझेदारितालाई फराकिलो बनाएर पर्यटन विकास गर्न दिवसले प्रोत्साहन गर्ने नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले बताए । पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रकृति, साहसिक र सांस्कृतिको आधारमा नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न जरुरी रहेको उनले उल्लेख गरे ।