Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

मूल्यवृद्धि ८.१ प्रतिशत पुग्छ : अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

मूल्यवृद्धि ८.१ प्रतिशत पुग्छ : अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

काठमाडौं, २७ असोज ।  विश्व बैंकले रुस–युक्रेन युद्ध र आन्तरिक कारणले नेपालमा चालू आर्थिक वर्षमा मुद्रास्फीति ६.३ प्रतिशत पुग्ने अनुमान गरेको केही दिनमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मूल्य वृद्धि ८.१ प्रतिशत हुने जनाएको छ । साथै, आगामी आर्थिक वर्ष मुद्रास्फीति दर घटेर ७.१ प्रतिशतमा सीमित हुने पनि जनाएको छ ।

सरकारले भने चालू आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि ७ प्रतिशतभन्दा तल राख्ने जनाएको थियो, जुन रुस तथा युक्रेनको युद्धका कारण भएको आपूर्ति चक्रको समस्या तथा आन्तरिक बजारका कारण सम्भव देखिँदैन । आईएमएफले सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुकका अनुसार सन् २०२२ मा विश्वमा महँगीसमेत ४.७ प्रतिशतबाट वृद्धि भएर ८.८ प्रतिशतसम्म पुग्ने आईएमएफको प्रक्षेपण छ ।

विश्व अर्थतन्त्रमा बृहत् र अपेक्षा गरिएभन्दा धेरै मन्दी देखिएको र मूल्य वृद्धि समेत केही दशकयताकै उच्च भएको आईएमएफले उल्लेख गरेको छ । आईएमएफले आगामी केही वर्ष मूल्यवृद्धि र अनिश्चितता रहने उल्लेख गर्दै मौद्रिक नीतिले मूल्यमा स्थिरता कायम राख्ने प्रयास गर्नुपर्ने र आर्थिक नीतिले जीवन यापनको लागत घटाउने गरी लक्षित हुनुपर्ने जनाएको छ । यद्यपि यी नीतिहरुमा धेरै लचिलो हुन नहुने समेत औंल्याएको छ ।

यसका साथै, चालू आर्थिक वर्षमा आर्थिक वृद्धि (जीडीपी) ४.२ प्रतिशतले वृद्धि हुने पनि आईएमएफले प्रक्षेपण गरेको छ । यता विश्व बैंकले भने चालू आर्थिक वर्षमा अर्थिक वृद्धि ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो भने त्यसअघि एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धि ४.७ प्रतिशतले हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

आईएमएफले सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुकका अनुसार आगामी आर्थिक वर्ष नेपालको अर्थतन्त्र ५ प्रतिशत र त्यसपछि अर्को आर्थिक वर्षमा ५.३ प्रतिशत आर्थिक वृद्धि हुने पनि आईएमएफको प्रक्षेपण छ । विश्व बैंकले अर्थतन्त्र विस्तार हुने बताउँदै गर्दा अन्तर्राष्ट्रिय मुद्रा कोषले भने विश्वव्यापी मन्दीको जोखिम बढ्दै गएको जनाएको छ । आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले युक्रेनमा रुसको आक्रमण र कोभिड महामारीका कारण उत्पन्न परिस्थितिका कारण अर्थतन्त्रको अवस्था राम्रो नभएको बताएकी छिन् । उनले मुद्रास्फीतिजस्ता महत्वपूर्ण समस्यालाई सम्बोधन गर्न पहल गर्नुपर्ने पनि बताएकी छिन् ।

यस्तै, आईएमएफका अनुसार चालू खाता भने अर्थतन्त्रको आकारको आधारमा १२.१ प्रतिशतले घाटामा रहने छ । गत आर्थिक वर्षमा नेपालको चालू खाता ६ खर्ब २३ अर्बले घाटामा थियो । नेपालको वस्तु निर्यातको स्थिति नसुधारिएको तथा रेमिट्यान्सबाट प्राप्त गर्ने आय पनि उल्लेख्य रुपमा बढ्न नसकेका कारण नेपालमा भित्रिने रकमभन्दा बाहिरिने रकम बढी छ ।

यसका साथै आईएमफले चालू आर्थिक वर्षमा विश्व अर्थतन्त्रको वृद्धि समेत ३.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा विश्वको अर्थतन्त्र ६ प्रतिशतले विस्तार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x