Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सरकारको राजस्व संकलन करिब १५ प्रतिशत, बजेट खर्च पनि न्यून

सरकारको राजस्व संकलन करिब १५ प्रतिशत, बजेट खर्च पनि न्यून

काठमाडौं, ४ कात्तिक । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा पहिलो त्रैमासमा १४.८७ प्रतिशतमात्र राजस्व संकलन गर्न सकेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार असोज मसान्तसम्ममा सरकारले कर तथा गैरकर राजस्व गरेर कुल २ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

कर राजस्व १ खर्ब ८९ अर्ब ३८ करोड तथा गैरकर राजस्व १९ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ । सरकारलाई ७९ करोड अनुदान प्राप्त भएको छ भने २२ अर्ब ७४ करोड बराबरको अन्य आम्दानी प्रापत भएको छ ।

यसरी सरकारको समग्र आम्दानी घट्दा बजेट खर्च पनि उत्साहजनक छैन । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यमा सरकारले १५.५१ प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज मसान्तसम्म सरकारले कुल २ खर्ब ७८ अर्ब १६ करोड बजेट खर्च गरेको छ । वर्तमान सरकारले चालू आवमा १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट खर्च गर्ने लक्ष्य लिएको छ ।

सरकारको विकास खर्च सदाझैं निराशाजनक भए पनि चालू खर्चमा भने राम्रै प्रगति भएको छ । दसैंका कारण दिइने बोनसका कारण पनि असोज महिनामा मात्र १ खर्ब १५ अर्ब चालू खर्च भएको छ । महालेखाको तथ्यांकका अनुसार सरकारले चालू खर्च कुल लक्ष्यको १८.९१ प्रतिशत गरेको छ । तर, असोज मसान्तसम्ममा सरकारले १९ अर्ब ६८ करोड पुँजीगत खर्च गरेको छ । भदौ मसान्तसम्ममा ५ अर्ब ८६ करोडमात्र रहेको पुँजीगत खर्च एकै महिनामा १३ अर्ब ८२ करोड बढेको महालेखाको तथ्यांकमा देखिन्छ । असोजसम्मको पुँजीगत खर्च लक्ष्यको ५.१७ प्रतिशत मात्र हो । सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ८० अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x