गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी करिब १४ करोड, खर्च ८ करोड
काठमाडौं, २० कात्तिक । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक वर्ष २०७८/७९ मा १४ करोड रुपैयाँ आम्दानी गरेको छ । गत जेठ २ गते देखि व्यावसायिक सञ्चालनमा आएको सो बिमानको खर्च भने ८ करोड भन्दा बढी भएको छ ।
सो विमानस्थल कार्यालयको तथ्यांक अनुसार यस आवमा आन्तरिक उडान सेवाबाट १२ करोड ८५ लाख ८७ हजार रुपैयाँ र अन्तर्राष्ट्रिय उडान सेवाबाट १ करोड ५ लाख ५० हजार रुपैयाँ गरी कुल १३ करोड ९१ लाख ३७ हजार रुपैयाँ आम्दानी भएको छ । यस अवधिमा खर्च भने ८ करोड २८ लाख रुपैयाँ बराबरको भएको छ ।
विमानस्थलले १ करोड २४ लाख ९८ हजार रुपैयाँ पूँजीगत र ७ करोड ३ लाख रुपैयाँ चालु खर्च गरेको तथ्यांक छ ।
जेठ २ मा अन्तर्राष्ट्रिय उडान सुरु भएको यो विमानस्थलमा आन्तरिक उडान भने १७ फागुनदेखि नयाँ धावनमार्गबाट सुचारु भएको हो । त्यसअगाडि पुरानो धावनमार्गबाट आन्तरिक उडान भइरहेको थियो । कार्यालयका अनुसार अहिले दैनिक १८ देखि २५ वटा उडान यस विमानस्थलबाट भइरहेको छ ।