१३२ केभीको सुनवल सबस्टेसन निर्माण एक महिनामा सक्ने लक्ष्य, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार
काठमाडौं, २१ कात्तिक । निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका-७ मा निर्माणाधीन सबस्टेसन त्यस क्षेत्रमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरूलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्नेगरी एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको विद्युत प्राधिकरणले जनाएको छ ।
१३२/३३/११ केभी सबस्टेसनमा ६३ एमभीएका दुईवटा, २२.५ एमभीएको एक वटा पावर ट्रान्सफर्मर रहने छन् । स्थानीय रूपमा विद्युत आपूर्तिका लागि ३३ केभीका ७ वटा र ११ केभीका ४ वटा फिडरहरु निकालिने बताइएको छ । हाल सञ्चालनमा रहेको पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत आपूर्ति दिने तयारी छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझालगायतको टोलीले सबस्टेसन निर्माण प्रगतिको स्थलगत अनुगमन गरी एक महिनाभित्र सञ्चालनमा ल्याउन निर्देशन दिइसकेको छ ।
‘परासी क्षेत्रका सिमेन्ट, स्टीललगायतका ठूला उद्योगहरूलाई विद्युत आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड हो, अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी प्रसारणमार्फत आपूर्ति दिंदा पर्याप्त विद्युत नपाएको, भोल्टेजको समस्या भएको जस्ता गुनासो उद्योगीहरुबाट आउने गरेको छ’, घिसिङले भने ।
भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार
नेपाल विद्युत प्राधिकरणले योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न गरी विद्युत दिन थालेपछि भैरहवा क्षेत्रमा विद्युत आपूर्तिमा सुधार आएको छ ।
रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका प्रसारण लाइन र मैनहियामा १३२ केभी सबस्टेसन निर्माण गरी विद्युत आपूर्ति दिइरहेको छ ।
मैनहिया सबस्टेसनबाट भैरहवा क्षेत्रको विद्युत दिन थालेपछि त्यस क्षेत्रको भोल्टेज सुधार भएपछि उद्योगीहरुबाट गुनासो आउन छाडेको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
स्थानीय रुपमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिएको छ । विद्युतको भोल्टेजको सुधारका लागि २ वटा क्यापासिटर बैंक राखिएको छ ।
मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।
भारतर्फको सबस्टेसनमा केही काम बाँकी रहेकाले प्रसारण लाइन सञ्चालनमा आएको छैन । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेको छ । मैनहिया–सम्पत्तिया प्रसारण लाइनले नेपाल–भारतबीचको अन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बनाउने प्राधिकरणको भनाइ छ ।