Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल बैंक : यस्तो रह्यो साढे ८ दशकको यात्रा

नेपाल बैंक : यस्तो रह्यो साढे ८ दशकको यात्रा

काठमाडौं, ३० कात्तिक । मुलुककै सबैभन्दा पुरानो एवं पहिलो बैंक नेपाल बैंक लिमिटेड आज (बुधवार) ८६ वर्षमा प्रवेश गर्दै छ । नेपालको बैंकिङ क्षेत्रमा साढे ८ दशकको यात्रा पूरा गरेको बैंकको इतिहास निकै उतारचढावपूर्ण रह्यो । परम्परागत बैंकिङ प्रणालीबाट यात्रा शुरू गरेर समय क्रमसँगै विविध प्रविधिको प्रयोग र नवप्रवर्तनलाई आत्मसात् गर्दै अघि बढेको बैंक आज व्यावसायिक रूपमा मात्र होइन, सबैजसो वित्तीय सूचकमा अब्बल देखिएको छ । तर बैंकले यो सफलता सजिलै प्राप्त गरेको भने होइन ।

विश्वमा १७औं शताब्दीताका नै सुरु भएको बैंकिङ अभ्यास नेपालमा आइपुग्न २०औं शताब्दीको पनि अन्त्यसम्म पर्खनुप¥यो । नेपालको बैंकिङ क्षेत्रमा अहिले जुन क्रान्ति भएको छ, यसको जग बसाल्ने काम ‘नेपाल बैंक लिमिटेड’ को स्थापनाबाट भएको हो । किनकि नेपाल बैंक नेपालको पहिलो बैंक हो, जसको स्थापना १९९४ साल कार्तिक ३० गते भएको हो ।

नेपाल बैंक कानुन १९३७ अनुसार स्थापना भएको यस बैंकको उद्घाटन राजा त्रिभुवनले गरेका हुन् । त्यतिबेला पनि सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सुरु भएको यस बैंकमा १० जना लगानीकर्ता थिए । ८ लाख ४२ लाख हजार चुक्ता पुँजीबाट सुरु भएको बैंकको निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो ।

नेपालमा बैकिङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बैंकको भूमिका अतुलनीय रहेको छ । यसको आफ्नै लामो गौरवमय इतिहास छ । नेपालमा औपचारिक बैकिङ सेवाको सुरुवात मात्र नभई स्वदेशी मुद्रा प्रचलनमा सहजता ल्याउने श्रेय पनि नेपाल बैंक लिमिटेडलाई जान्छ । त्यसैगरी वि.सं. १९९४ देखि २०१३ सालसम्म यस बैंकले देशको केन्द्रीय बैंकको भूमिका समेत निर्वाह ग¥यो ।

नेपाल बैंक लिमिटेडमा हाल २३ लाखभन्दा बढी ग्राहक छन् । पुस्तौंदेखि पुस्तासम्म गहिरो इतिहास भएको यो बैंक हाल ‘सबै पिढीको साथी’ का रूपमा अगाडि बढिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी बताउँछन् । ‘बैकिङ सेवासँगै सरकार र समुदायसँग रहेर कार्य गर्ने सोचअनुरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न क्षेत्रहरूमा आफ्नो सहभागिता जनाएको छ । कृषि, पर्यटन, जलविद्युत्लगायत सरकारको नीतिअनुसार प्राथमिकता प्राप्त क्षेत्रमा बैंकको लगानी उल्लेख्य रहेको छ,’ उनले भने ।

परम्परागत बैकिङबाट आधुनिक बैकिङमा सफलताका साथ ठुलो छलाङ मार्न सफल अब्बल बैंकका रूपमा नेपाल बंैक लिमिटेडले आफ्नो पहिचान बनाएको छ । सम्पूर्ण आधुनिक बैकिङ सेवाका रूपमा रहेका मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, अनलाइन बैंकिङ्, डेबिट कार्ड, क्रेडिट कार्ड, सि–आस्वा, क्युआरकोड लगायतका अन्य डिजिटल बैंकिङ सुविधाहरूले बैंकको सेवाप्रवाहलाई थप गतिशील, सहज र प्रतिस्पर्धी बनाएको छ । बैंकले आधुनिक बैंकिङ सेवाको साथमा सुरक्षित निक्षेप, सुलभ र सहज कर्जा, भरपर्दो रेमिट्यान्स, छिटोछरितो र सुरक्षित प्रतीतपत्र, बैंक जमानतलगायत ट्रेड फाइनान्सका थुप्रै सुविधाहरू प्रदान गरिरहेको छ ।

सेवाविस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भई बैंकले २२६ शाखामार्फत कारोबार गर्दै आएको छ । बैंकले शाखासँगै १९९ वटा एटिएम, ५० वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको छ । बैंकका सबै वित्तीय सूचकहरू स्वस्थ र सन्तुलित देखिन्छन् । साथै हरेक वर्ष ती सूचकहरूमा उल्लेख्य प्रगति भइरहेको छ । वि.स. २०७९ असार मसान्तसम्म १ खर्ब ९६ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब ७८ अर्ब कर्जा प्रदान गर्न बैंक सफल भएको छ । ८६ वर्षअघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४.४० अर्ब छ ।

बैंकको जगेडा कोषमा २१.६८ अर्ब रुपैयाँ रहेको छ भने ३५ अर्बभन्दा बढी कुल सम्पत्ति रहेको छ । प्रशस्त अचल सम्पत्ति, कासा निक्षेप, आधार दरको न्यूनता, स्प्रेड दर व्यवस्थापन, ब्याजदरको सन्तुलित उतारचढाब, खराब कर्जा व्यवस्थापनलगायतका सूचकहरूमा समेत बैंक दरिलो देखिन्छ ।

बैंकमा करिब ३४०० को सङ्ख्यामा कर्मचारी कार्यरत छन् । यस बैंकमा कार्यरत कर्मचारीहरूको औसत उमेर ३५ वर्ष रहेको छ भने महिला र पुरुष कर्मचारीहरूको सङ्ख्यामा उचित सन्तुलन रहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x