मौद्रिक नीतिको समीक्षाबाट रुष्ट निजी क्षेत्र, मुलुक गम्भिर दुर्घटनामा जाने महासंघकाे चेतावानी
काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघले अहिले अर्थतन्त्रमा वहुआयामिक असर परेकाे भन्दै मौद्रिक नीतिको त्रैमासिक समीक्षाले अर्थतन्त्रका मुलभूत समस्या सम्बोधन गर्न नसक्ने बताएकाे छ
केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको त्रैमासिक समीक्षाबारे टिप्पणी गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले स्प्रेडदर घटाएर मात्र ब्याजदरको समस्या समाधान हुन नसकेको बताएका हुन् । मंगलबार एक पत्रकार सम्मेलनकाे आयोजना गर्दै उनले जबसम्म बैंक वित्तिय संस्थाको आधार दर घटदैन, तबसम्म ब्याजदर नघट्ने बताएका हुन् ।
अध्यक्ष गोल्छाले ब्याजदर नघट्ने हो भने अर्थतन्त्र जोगाउन कठिन हुने भएकाले तत्काल बजारमा तरलता प्रवाह गर्ने र ब्याजदर घटाउने उपाय सरकार र केन्द्रिय बैंक दुवैले पहिल्याउनु पर्ने बताए ।
उनले भने, अर्थतन्त्रमा अहिले वहुआयामिक असर परेको छ । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा सरकार पुगेको छ। मुल्यवृद्धि ६ बर्षयताकै उच्च छ । निजी क्षेत्र संकुचित हुदै गएको छ । वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले पनि विद्यमान समस्या सम्बोधन गर्न सकेन ।’
महासंघले ‘अर्थतन्त्र जोगाऔं’ भन्ने नारासहित सञ्चालन गरेको कार्यक्रममा अहिले सरकार, सर्वसाधारण र निजी क्षेत्र सबै नकारात्मक रुपमा प्रभावित भएको र यो अर्थतन्त्रमा निराशाको अवस्था भएको उल्लेख गरेको छ ।
अझै सचेत नभए मुलुक गम्भिर दुर्घटनामा जान सक्ने भन्दै महसंघले नेपाली अर्थतन्त्रले अब कुनै पनि प्रकारकाे राजनीतिक एवं नीतिगत अस्थिरता थेग्न नसक्ने बताएकाे हाे ।