चियाकफी निर्यातमा उतारचढाव, चिया निर्यात दोब्बर हुँदा, कफी आधाले घट्यो
मानमती पाण्डेय
काठमाडौं, १४ मंसिर । नेपालको चिया तथा कफी निर्यातमा यस वर्ष उतारचढाव देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८÷७९ को पहिलो ४ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा चियाको निकासी करिब दोब्बर हुँदा कफीको निर्यात भने झन्डै आधाले गरेको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा नेपालबाट ८१ लाख १० हजार २७५ केजी चिया निर्यात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.३४ प्रतिशतले बढेको हो । गत आथिक वर्षको पहिलो ४ महिनामा ४३ लाख ५२ हजार ७२३ केजी चिया निकासी भएको थियो । मूल्यका हिसाबले गत आर्थिक वर्षको पहिलो चार महिनामा १ अर्ब २३ करोढ रुपैयाँ बराबरको चिया निकासी भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
गुणस्तरीय भएकाले माग बाह्य बजारबाट नेपाली चियाको माग बढेकाले र उत्पादनमा समेत वृद्धि हुँदा नेपाली चियाको निकासी बढेको चिया तथा कफी विकास बोर्डले बताएको छ ।
चियाको निर्यात उत्साहजनक रूपमा भए तापनि कफीको निर्यात भने उल्लेख्य घटेको छ । विभागका अनुसार अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट १२ हजार ७ सय ४८ केजी कफी नियात भएको छ, जुन गतवर्षको सोही अवधिको तुलनामा ५७.३३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा २० हजार ५७ केजी कफी निकासी भएको विभागको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ३ करोड २९ लाख रुपैयाँ बराबरको कफी निर्यात भएकोमा चालू आवको यसै अवधिमा २ करोड १३ लाख रुपैयाँको निकासी भएको छ ।
नयाँ कफी भित्र्याउने बेला नभएकाले यस वर्ष स्टकमा रहेको कफी मात्र निर्यात भएकाले कम देखिएको चिया तथा कफी विकास बोर्डका निर्देशक तथा प्रवक्ता डा. दीपक खनालले बताए । उनले भने, ‘कोरोनाका कारण लामो समयदेखि स्टक रहेको कफी समेत निकासी भएकाले गतवर्षको सो अवधिमा निर्यात बढी देखिएको हो,’ उनले भने । विगतका वर्षहरुमा कोभिडका कारण निर्यातमा केही समस्या रहेकोमा अहिले सहज रूपमा निर्यात भइरहेको उनले बताए ।
नेपालमा उत्पादित कफीको माग विश्व बजारमा बढ्दै गएको छ । चिसो हावापानीमा उत्पादन हुने कफी गुणस्तरीय मानिन्छ । सोही कारण नेपाली कफीमा आकर्षण बढ्दै गएको छ ।