नेपालमा लगानी गर्नेमा चीन पहिलो नम्बरमा
काठमाडौं, जेठ १४ पछिल्लो समयमा कूल विदेशी लगानीमा चीनका लगानीकर्ताको हिस्सा नेपालमा बढ्दै गएको छ । आर्थिक सर्वेक्षण अनुशार विदेशी लगानीका लागि स्वकृति पाएका उद्योगको संख्याका आधारमा भने चीन पहिलो स्थानमा छ । चीनको लगाीकर्ताको अंश २८.७, भारतका लगानीकर्ताको १६.७ र संयुक्तराज्य अमेरिकाको अंश ८.८ प्रतिशत रहेको छ ।
फ्रान्स, जर्मनी, बेलायत, मौरिसस, फिनल्याण्ड र भारत गरी छ मुलुकसँग नेपालको दुई पक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (विप्पा) भएको छ । चालु आवको प्रथम आठ महिनासम्म ती राष्ट्रका लगाीनकर्ताबाट एक हजार १०३ उद्योगमा कूल विदेशी लगानीको करीब ४० प्रतिशत लगानी प्रतिबद्धता आएको छ ।
चालु आर्थिक वर्षको प्रथम आठ महिनासम्म दर्ता भएका उद्योगमध्ये प्रदेश नं ३ मा दुई तिहाइ उद्योग रहेका छन् भने सबैभन्दा कम उद्योग कर्णाली प्रदेशमा छन् ।आर्थिक सर्वेक्षण २०७४÷७५ अनुसार उद्योेगको लगानीका आधारमा पनि सबैभन्दा बढी लगानी प्रदेश नं मा भएको छ भने सबैभन्दा कम प्रदेश नं ७ मा भएको छ ।
दुई दशकअघि कूल गार्हस्थ्य उत्पादनमा औद्योगिक उत्पादनको योगदान करीब १०.० प्रतिशत रहेकामा घट्दै चालु आवमा ५.४ प्रतिशतमा सीमित हुने आर्थिक सर्वेक्षणको अनुमान छ । चालु आवको प्रथम आठ महिनासम्म उद्योग विभागमा दर्ता भएका उद्योग संख्याका आधारमा ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १३.६ प्रतिशत, २२.२ प्रतिशत, र ६४.२ प्रतिशत रहेको छ ।
उत्पादनमूलक उद्योग, कृषि तथा वनजन्य उद्योग, सेवामूलक उद्योग, ऊर्जामूलक उद्योग, पर्यटन उद्योग र निर्माण उद्योग प्रदेश नं ३ मा सबैभन्दा बढी दर्ता भएका छन् । खनिज उद्योगको संख्या प्रदेश नं ५ मा सबैभन्दा बढी छ भने सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योग प्रदेश नं ३ मा मात्र दर्ता भएका छन् ।
चालु आवको आठ महिनासम्ममा सञ्चालनका लागि स्वीकृति प्राप्त उद्योगमा भएको कूल लगानीमा विदेशी लगानीको अंश १५.८ प्रतिशत छ । विदेशी लगानीका लागि स्वीकृति पाएका उद्योगमध्ये परियोजना लागतका आधारमा भारतका लगानीकर्ताले कूल विदेशी लगानीको ३५ प्रतिशत हिस्सा ओगटेका छन् । चीनका लगानीकर्ताको २५.६ प्रतिशत र चीन हङ्कङका लगानीकर्ताको ११ प्रतिशत हिस्सा रहेको आर्थिक सर्वेक्षणले जनाएको छ ।