धानखेती हुने जमिनको क्षेत्रफल निरन्तर घट्दै
काठमाडौं, १६ पुस । नेपालमा धानखेती हुने जमिनको क्षेत्रफल निरन्तर घट्दै गएको देखिएको छ । आर्थिक वर्ष २०७३–७४ मा नेपालले धानखेती गरेको जमिनको क्षेत्रफल १५ लाख ५२ हजार चार सय ६९ हेक्टर बराबर थियो । त्यो क्रमशः घट्दै गएर यसवर्ष १४ लाख ४७ हेक्टरमा खुम्चिएको छ । आर्थिक वर्ष २०७४–७५ मा १४ लाख ६९ हजार पाँच सय ४५ र आर्थिक वर्ष २०७५–७६ मा १४ लाख ९१ हजार सात सय ४४ हेक्टरमा धान खेती भएको थियो । त्यस्तै, २०७६–७७ मा १४ लाख ५८ हजार नौ सय १५ र २०७७–७८ मा १४ लाख ४९ हेक्टर जमिनमा धान खेती भएको देखिन्छ । गत आर्थिक वर्ष २०७८–७९ को तुलनामा यस वर्ष धान बाली लगाइएको समग्र क्षेत्रफल दुई प्रतिशतले घटेको देखिन्छ ।
यसवर्ष समग्र उत्पादनमा छ दशमलव ९४ प्रतिशतले र उत्पादकत्वमा नौ दशमलव १२ प्रतिशतले बढेको छ । गतवर्ष एक हेक्टर जमिनमा तीन दशमलव ४१ मेट्रिकटन बराबर धान फलेको थियो । यसवर्ष एक हेक्टरमा तीन दशमलव ७९ मेट्रिकटन धान फलेको देखिन्छ ।
प्रदेशगतरुपमा गत आर्थिक वर्षको तुलनामा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब ३३ दशमलव ३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ । गतवर्ष मौषमी वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा निकै क्षति भएका कारण उत्पादनमा पनि कमी आएको थियो । यसवर्ष अवस्था सामान्य भएकाले गतवर्षको तुलनामा उत्पादन बढी देखिएको हो ।
गत वर्षको तुलनामा लुम्बिनी प्रदेशमा १५ दशमलव दुई प्रतिशत, प्रदेश–१ मा पाँच दशमलव ७२ प्रतिशत र कर्णालीमा तीन दशमलव ४६ प्रतिशतले धान उत्पादन बढेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । त्यस्तै, बागमती प्रदेशमा एक दशमलव ४५ प्रतिशतले, गण्डकी प्रदेशमा तीन दशमलव ७४ प्रतिशत र मधेश प्रदेशमा शून्य दशमलव १८ ले बढेको छ ।