Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

आन्तरिक पर्यटक आकर्षणको केन्द्र बन्दै दाङको ज्यामिरे दह

आन्तरिक पर्यटक आकर्षणको केन्द्र बन्दै दाङको ज्यामिरे दह

काठमाडाैं, २९ माघ । दाङको घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । दहलाई ठूलो बनाएपछि दैनिक आन्तरिक पर्यटक यहाँ घुइँचो लाग्ने गरेको छ ।

अन्य दिनको तुलनामा बिदामा यहाँ अत्यधिक पर्यटक घुम्नका लागि पुग्ने गरेको दहमा डुङ्गा सञ्चालन गर्दै आउनुभएका वीरजङ पुनले बताउनुभयो । जिल्ला बाहिरबाट पनि सर्वसाधारण घुम्न आउने गरेको उहाँको भनाइ छ । दैनिक सरदर ४० जना यहाँ आउने गरेका छन् । मङ्सिरदेखि वैशाखसम्म बढी भीड हुन्छ ।

पुनले तीन वर्षदेखि दहमा डुङ्गा चलाइरहनुभएको छ । मासिक रू १५ हजारसम्म आम्दानी हुने गरेको उहाँ बताउँनुहुन्छ । एक सय २० मिटर गहिरो उक्त दहको १२ बिघा क्षेत्रमा पानी छ भने वरिपरीको क्षेत्रफल पाँच किलोमिटर छ ।

ज्यामिरे दहलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले डुङ्गा सञ्चालन गरिएको छ । यहाँ डुङ्गा सवार गर्न, पौडी खेल्न र वनभोजका लागि सर्वसाधारण पुग्ने गरेका छन् । प्राकृतिक रूपमा रहेको उक्त दह बवरपर पर्खाल निर्माण गरिएको छ ।

बिदाको समय तथा चाडपर्वमा डुङ्गा शयर गर्नेको घुइँचो लाग्छ । डुङ्गा शयर गरेबापत एक जनाबाट रु ५० लिने गरिएको छ । ज्यामिरे दह पर्यटकीय क्षेत्रको रूपमा विकास भएसँगै यहाँ व्यापारसमेत बढेको घोराही उपमहानगरपालिका–१३ कमलघारीकी गीता नेपालीले बताउनुभयो । उहाँ चार वर्षदेखि ज्यामिरे दहनजिकै व्यापार गर्दै आउनुभएको छ ।

दह रहेको क्षेत्रमा प्रतिक्षालय र खानेपानीको व्यवस्था भए सहज हुने स्थानीय टीकाराम गिरी बताउनुहुन्छ । प्रतिक्षालय नहुँदा घुम्न आउनेलाई समस्या भएको छ । “यस क्षेत्रको विकास गर्न सके धेरै सम्भावना छन्”, उहाँले भन्नुभयो । यसलाई पर्यटकीय हब बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले ध्यान दिनुपर्ने उहाँकोे भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x