नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १४ औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडाैं, १७ चैत । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । बिहिबार सभामा बोल्दै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले अर्थतन्त्रमा आएको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
देशले अर्थमन्त्री भोलि पाउने भन्दै उनले त्यसपछि अर्थतन्त्रमा आएको समस्याको विशेष गहनरूपमा छलफल गर्ने बताए । अहिलेको सरकार निर्यात प्रर्वद्धन, आयात प्रतिस्थापन, उत्पादनमा वृद्धि गर्ने एकबद्ध भएर लागेको उनकाे भनाइ छ ।
यस्तै उक्त कार्यक्रममा बाेल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्र मारमा परेको बताएका छन् । अर्थतन्त्रमा आएको मन्दीको कारण निजी क्षेत्रको मनोबल समेत गिरेको उनले बताए ।
स्वदेशी उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उदेश्यले स्थापित भएको यस संघले ऊनी जन्य वस्तु उत्पादन गरि तेश्रो मुलुकमा निर्यात गर्दै आइरहेको र नेपालबाट झन्डै ५ अर्ब बराबरको ऊनी फेल्टजन्य वस्तु निर्यात हुने गरेको संघले जनाएकाे छ ।
उपप्रधान मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजीको प्रमुख आतिथ्यतामा सञ्चालन भएकाे सभामा सरकारी तथा गैरसरकारी संस्थाका उच्च पदस्थ व्यक्तिहरु, नीजि क्षेत्रका एवं उद्योगी व्यापारीहरुको उपस्थिति रहेकाे थियाे ।