२ हजार घरधुरी थपिए भूकम्प पीडित लाभग्राहिको सूचिमा
काठमाडौं, जेठ २० । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनः जाँच सर्वेक्षण गर्दा भूकम्प पीडित लाभग्राहीको सङ्ख्या बढेको छ । प्राधिकरणले १३ वटा स्थानीय तहको पुनः सर्वेक्षण गर्दा दुई हजार ७८ घरधुरी लाभग्राहीमा थपिएका हुन् भने यस्तै २६३ जना प्रवलीकरणका लागि लाभग्राहीमा समावेश भएको पुन निर्माढ प्रधिकरणले जनाएको छ ।
प्रधिकरणका अनुसार गोरखाका आरुघाट र अजिरकोट, सिन्धुपाल्चोकका इन्द्रावती र सुनकोशी, काठमाडौँ महानगरपालिका, नगरपालिकाहरुमा बुढानीलकण्ठ, चन्द्रागिरी, गोकर्णेश्वर, कीर्तिपुर, नागार्जुन, शंकरापुर, तारकेश्वर, टोखा नगरपालिकामा पुन सर्वेक्षण गर्दा लाभग्राहीको सूचि थपिएको हो ।
यसअघि प्राधिकरणले गुनासो सुनुवाईमार्फत् विभिन्न जिल्लाका १८ गाउँपालिका र दुई नगरपालिकाका पाँच हजार ३४४ जनालाई पुनर्निर्माण अनुदान लाभग्राही र ५ हजार ५०१ जनालाई प्रवलिकरण लाभग्राहीमा समावेश गरिसकेको छ ।
विभिन्न जिल्लाबाट ठूलो संख्यामा गुनासो दर्ता गरिएको र पहिले सर्वेक्षण भएको वा नभएको यकिन गरी थप प्रमाणीकरण गर्नु परेकाले लाभग्राहीको छनोटमा केही ढिलाई भएको प्राधिकरणले स्पष्ट पारेको छ ।