Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

तनहुँ जलविद्युत् आयोजना : धमाधम टावर जडान गरिँदै

तनहुँ जलविद्युत् आयोजना : धमाधम टावर जडान गरिँदै

तनहुँ, २५ वैशाख । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो । हालसम्म ५१ टावरको जग हाल्ने काम सकिएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । प्रसारण लाइन निर्माणका लागि ९४ टावर जडान गरिनेछ । त्यसमध्ये आठ टावरको जग संरक्षण सम्पन्न भएको छ । एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण र छ स्थानमा जग्गा हाल्ने काम भइरहेको उनले बताए । त्यस्तै शून्य दशमवलव ९८८३ किलोमिटर तार तान्ने काम सकिएको छ ।

प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता ९२३ रोपनी पाँच आना० जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ ।

आयोजनाको प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्गदा कर्पोरेसन, भियतनाम–कालिका कन्ट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक दुई डाइभर्सन सुरुङ, बाँधको दायाँ तथा बायाँतर्फबाट स्लोप कटानलगायतका निर्माण कार्य भइरहेका छन् । पाँच सय ३८ दशमलव पाँच मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ र ६२२ दशमलव पाँच मिटर लम्बाइ भएको डाइभर्सन सुरुङ–२ को वारपार गरी (ब्रेक थू्र) कङ्क्रिट लाइनिङको काम भइरहेको छ ।

प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कार्य गरिरहेको छ । विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ कार्य गरिरहेको छ । टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ । पेनस्टक पाइप जडान तथा सर्ज ट्याङ्क निर्माण कार्य जारी रहेको छ । एक हजार ४५६ मिटर मुख्य सुरुङमध्ये सात सय ९० मिटर खन्ने कार्य सम्पन्न भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x