७ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थामा निक्षेप परिचालन

काठमाडौं, ३० वैशाख । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप रु.३५५ अर्ब ८९ करोड (७.० प्रतिशत) ले बढेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.२३६ अर्ब २३ करोड (५.१ प्रतिशत)ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.० प्रतिशतले बढेको छ ।२०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ८.० प्रतिशत, २५.७ प्रतिशत र ६०.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.७ प्रतिशत, २८.७ प्रतिशत र ५६.१ प्रतिशत रहेको थियो।