Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सर्वेक्षणको १८ वर्षपछि निर्माणको तयारीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना

सर्वेक्षणको १८ वर्षपछि निर्माणको तयारीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना

काठमाडाैं, ३१ वैशाख । अठार वर्षअघि सर्वेक्षण गरिएको एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ ।

म्याग्दी र मुस्ताङमा संरचना रहने गरी प्रस्ताव गरिएको आयोजना डेढ दशकपछि निर्माणको प्रक्रियालाई अगाडि बढाइएको हो । हाइड्रो सोलुसनबाट गत मङ्सिरमा कालीगण्डकी गर्जको स्वामित्व लिएको त्रिवेणी इनर्जी प्रालिले आयोजना निर्माणको प्रक्रिया अघि बढाएको हो ।

विसं २०६३ मा आयोजनाको पहिलोपटक सर्वेक्षण गरिएको आयोजना लगानीको स्रोत जुट्न नसक्दा कार्यान्वयन हुनसकेको थिएन । मुस्ताङको थासाङ गाउँपालिकाको घाँसमा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विद्युत्गृह प्रस्ताव गरिएको म्याग्दी जिल्लाको सबैभन्दा ठूलो यो आयोजनाको छ किलोमिटर लामो सुरुङ निर्माण गरिने छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विसं २०७५ असारमा भएको चीन भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवा वाटर कन्जरभेसन एन्ड हाइड्रोपावरका प्रतिनिधिबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

चिनियाँ पक्ष लगानीबाट पछि हटेपछि आयोजना कार्यान्वयन हुनसकेको थिएन । त्रिवेणी इनर्जी प्रालिका प्रशासन प्रमुख विजय कार्कीले स्वदेशी लगानीमा कालीगण्डकी गर्ज निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो । ‘‘हामी आयोजना बनाउने गरी आएका छौँ, आयोजना प्रभावित स्थानीयवासी र सरोकारवाला पक्षको साथ र सहयोगको खाँचो छ”, उहाँले भन्नुभयो, “एक वर्षको अवधिमा आयोजनाको भौतिक संरचना निर्माण थाल्छौँ ।”

अर्धजलाशययुक्त आयोजना निर्माणका लागि कम्पनीले गत फागुनमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भइसकेको छ । “आयोजनाको कुल लागत रु ४३ अर्ब अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “वातावरणीय प्रभाव मूल्याङ्कन गरिसकेपछि लगानी जुटाएर आयोजना निर्माण थाल्छौँ ।”

आयोजनाको परामर्शदाता रुप्से इन्भारोमेन्ट सोलुसन प्रालिले आयोजनाको वातावरणीय र सामाजिक प्रभाव मूल्याङ्कनलाई अगाडि बढाएको छ । सोलुसनका आर्थिक, सामाजिक तथा सांस्कृतिक विज्ञ मुक्ति ढुङ्गानाले आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । म्याग्दी र मुस्ताङका जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखसहितको टोलीले शुक्रबार आयोजना क्षेत्रको स्थलगतरूपमा अनुगमन गरेको थियो ।

आयोजनाबाट वार्षिक एक अर्ब पाँच करोड ५५ लाख ५२ हजार तीन सय १३ युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । जसअनुसार बर्खामा ७१ करोड ७३ लाख ३८ हजार र सुक्खायाममा ३३ करोड ८१ लाख १३ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । सुक्खायाममा आयोजनाको पेकिङ अवधि दैनिक छ घण्टा हुने छ । आयोजनाले सुक्खायाममा पनि दैनिक छ घण्टा एक सय ८० मेगावाट बिजुली उत्पादन गर्ने छ । रन अफ दि रिभर प्रकृतिको आयोजनालाई अर्ध जलाशय बनाउन विद्युत् विकास विभागले सैद्धान्तिक सहमति दिएको थियो ।

आयोजनाले नारच्याङमा रु तीन करोडमा तीन सय रोपनी जग्गा अधिग्रहण गरेको छ । विद्युत्गृहबाट एक किलोमिटर नजिक रहेको दुई सय २० केभी क्षमताको दाना सबस्टेशनमा आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गराइने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x