प्रयोग भइसकेका फूलबाटै अगरबत्ती, स्वदेशी बजारदेखि विदेशसम्म पुग्दै

मानमती पाण्डेय
काठमाडाैं, १० जेठ । फूल । दुई अक्षरको यो शब्दले बुझाउने अर्थ र वातावरणीय एवं मानवीय जीवनमा राख्ने अर्थ निकै गहिरो छ । मानिसको जन्मदेखि मृत्यु संस्कारसम्म उत्तिकै महत्व राख्ने यो पवित्र फूलको प्रयोगको दायरा फराकिलो छ ।
नेपाली समाजमा फूल वस्तुतः धर्म, संस्कृति र परम्परासँग जोडिएको छ । तर यसको महत्व भने यतिमै सीमित छैन । फूल मानिसको आयआर्जनसँग प्रत्यक्ष जोडिएको वस्तु समेत यो । रोचक तथ्य के हो भने अन्य कतिपय वस्तुजस्तै फूल पनि पुनः प्रयोगयोग्य वस्तु हो भन्नेबारे धेरैलाई थाहा छैन । साथै पुनःप्रयोगमा आधारित वस्तु उत्पादन गरेर यसलाई व्यवसाय नै बनाउन सकिन्छ भन्नेबारे त विरलै मानिसलाई थाहा होला । हो, प्रयोग भइसकेको फूललाई उद्यमसँग जोड्न सकिन्छ भन्ने बलियो उदाहरण हुन्– अर्याल दाजुभाइ । पुख्र्यौली थातथलो स्याङ्जा भएका सागर अर्याल, समुन्द्रराज अर्यालले यस्तै व्यवसाय गरेका छन् । प्रयोग भइसकेको फूललाई उनीहरूले कसरी व्यावसायिक आकार दिए त ?
५ वर्षअघि यी दुई दाजुभाइले स्वदेशमै केही नयाँ उद्यम गर्ने सोच बनाए । उनीहरुले विभिन्न सम्पदा क्षेत्रहरुको भ्रमण गरे । त्यहाँ मन्दिरमा प्रयोग भएपश्चात् फोहरमा फालिएका फूलहरु देख्दा फूलको व्यवस्थापन गर्ने सोच बनाए । र त्यही फूलबाट उनीहरुले वातावरणमैत्री उत्पादन गर्ने प्रयास गरे । तर त्यसै समयमा कोभिडको महामारी फैलियो । त्यो समयमा उनीहरुलाई सोच्ने अनुसन्धान गर्ने र कसरी अगाडी बढ्ने भन्ने कुरा सोच्ने समय मिल्यो । यससँगै उनीहरूसँग अर्की युवा उद्यमी शुष्मा शर्मा वस्थी पनि जोडिइन् । उनी बैंकको जागिर छोडेर यो उद्यममा जोडिएकी हुन् । यसै आइडियालाई यी तीन युवाले उद्यममा परिणत गरे र फूल प्रसाद प्रालिका नामबाट उक्त उद्योग सञ्चालनमा ल्याए ।
करिब तीन वर्षको अध्ययन र अनुसन्धानपछि उनीहरुले धार्मिक कार्यमा प्रयोग भइसकेका फूल संकलन तथा प्रशोधन गरी वातावरणमैत्री धूप उत्पादन काम शुरू गरेका हुन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ मा उनीहरूको उद्योग रहेको छ ।
पहिलो चरणमा उनीहरूले पशुपतिनाथ मन्दिर र काठमाडौंको मखनस्थित सानो पशुपति मन्दिरमा प्रयोग भएका फुुलहरुको संकलन शुरु गरे । त्यसबाट प्रयोग गर्न सकिने फूलहरुलाई अगरबत्ती बनाउन छुट्याए भने अन्य फूल र बेलपत्रहरु खेतबारीमा प्रयोग गर्न कम्पोष्ट मल बनाउन थाले ।
‘बीचमा आउँदा हामीलाई २–३ वर्ष संघर्ष गरियो छाडेर जान पनि गाह्रो र अगाडि बढाउन पनि आर्थिक संकट परेको थियो,’ उद्योगका सञ्चालक सागरले भने, ‘तर हरेश नहारी यसमा अझै संघर्ष ग¥यौं, अहिले स्वदेशी तथा विदेशी बजारबाट राम्रो प्रतिक्रिया आइरहेकाले उत्साहित भएका छौं ।’ बेलायत, अमेरिका, जापान अष्ट्रेलियालगायतका देशहरुमा नमूना पठाएकोमा सकारात्मक प्रतिक्रिया आएको र केही देशबाट अर्डर समेत आएको उनले बताए ।
यस व्यवसायमार्फत महिला सशक्तीकरका लागि पनि योगदान गरिरहेको उनको भनाइ छ । फूल प्रसाद प्रालिमा ७ जना महिला आवद्ध छन् । अगरबत्ती बनाउन मसिनको प्रयोग गर्दा महिलाहरुको रोजगारी गुम्ने हुँदा हातको प्रयोबाटै महिलाहरुले अगरबत्ती बनाउने काम गर्ने गरेको उद्योगका निर्देशक समुन्द्रराज अर्यालले बताए ।
‘काठमाडौं उपत्यकाभित्रकै पनि सबै मठ मन्दिरहरुबाट अहिले नै फूल संकलन गरेर पुनः प्रयोग गर्न सकिने अवस्था नभए पनि शुरुवात गरेका छौं,’ उनले भने, ‘विस्तारै शाखा विस्तार गर्दै ठूलो मात्रामा सम्पूर्ण सम्पदा क्षेत्रको फोहर व्यवस्थापन र बढी भन्दा बढीलाई रोजगारी दिने उद्देश्य रहेको छ ।’
प्रयोग भइसकेका फूलबाट यसरी बनाइन्छ अगरबत्ती
फूल संकलन गरिसकेपछि सोलार ड्रायरमा सुकाइन्छ । सुकाइसकेपछि राम्रा फूलहरु जम्मा गरेर फूलको बाहिरी आवरण र फूलहरु छुट्याइन्छ । छुट्याइएको फूलमा विभिन्न प्राकृतिक फ्लेबर तुलसी, अष्टसुगन्ध लगायतको प्रयोग गरी धुलो बनाइन्छ । नेपाली कागजमा उक्त धुलो प्रयोग गरी अगरबत्ती तयार गरिन्छ । उनीहरुले फूलको प्रयोग गरी डल्लो धुप, बाटेको धुप र सिन्का धुप बनाउने गरेका छन् । यो उत्पादन भर्खरै बजारमा पुगेको र राम्रो प्रतिक्रिया आइरहेको सञ्चालकहरू बताउँछन् ।
‘अहिले बजारीकरणकै चरणमा रहेकाले भविष्यमा यसले राम्रो बजार लिनेमा विश्वस्त छौं,’ सञ्चालक सागरले भने । यो उत्पादन ग्राहकले भाटभटेनी र दराजबाट पनि लिन सक्ने व्यवस्था गरिएको छ भने अनलाइन अर्डर र कतिपयले सीधै कार्यालयमा आएर समेत लिने गरेको उनले बताए । उत्पादनको शुरुआती चरणमा सामान्य केही समस्या देखिएकोमा अहिले त्यसमा सुधार गरेकाले कुनै समस्या नरहेको उनको दाबी छ । हाल उत्पादन पनि थोरै मात्रामा भएकाले अहिले नै आक्रामक मार्केटिङ गर्दा माग पूरा गर्न सकिने अवस्था नभएको उनले बताए । ‘साथै हामीसँग बजेट र जनशक्ति पनि कम छ,’ उनले भने ।
वातावरण विज्ञानमा स्नातकोत्तर गरेका सागरले विशेषतः फोहरमैला व्यवस्थापन सम्बन्धी तालिम लिने, अफसाइक्लिङ, रिसाइक्लिङदेखि लिएर कम्पोष्टिङहरूको ट्रेनिङ दिने भएकाले उनलाई यसमा रुचिका साथ साथै ज्ञान पनि थियो ।
उनीहरूलाई हातले बनाइएका र कम परिमाणमा उत्पादन गरिएकाले बजारमा पाइने धूप भन्दा महँगो पर्ने हुँदा विक्रीमा समस्या पर्छ कि भन्ने चिन्ता थियो । तर मानिसहरु स्वास्थ्यप्रति जागरुक हुँदै गएकाले यसको बजार रामै हुन्छ भन्ने विश्वास उनीहरूको छ ।
‘अहिले रोजगारको खोजीमा धेरै युवा विदेशिने गरेका छन् । कतिपय बेरोजगार बसेका छन्,’ सागरले भने, ‘तर देशमै भएका स्थानीय साधनस्रोतको प्रयोग गरेर देशभित्र स्वरोजगार उद्यमी बन्न, रोजगारीका अवसर सृजना गर्न सकिन्छ । त्यसको उदाहरण हामी पनि हौं ।’
सातै प्रदेशमा मुख्य मुख्य ठूला सम्पदा भएका स्थानमा शाखा खोल्ने, उत्पादन बढाउने र बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने उनीहरूको योजना छ । ‘त्यसमा पनि महिलालाई शीप सिकाएर आत्मनिर्भर बनाउनमा जोड दिनेछौं,’ उनले भने, ‘जनकपुर र लुम्बिनी विकास क्षेत्रकोष लगायत ठूला सम्पदा क्षेत्रहरुमा शाखा विस्तार गर्ने योजना छ ।’ उनीहरूले बाटेको धुप बनाउन चाहिने सामानको आउटसोर्सिङ समेत गर्ने गरेका छन् । साथै आउटसोर्सिङ गरेका ठाउँका महिलालाई उनीहरूले तालिम समेत दिने गरेका छन् ।