नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर
काठमाडौं, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको अवसरमा आज (बिहीवार) नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ, जसअनुसार तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, आइसीपी लगायत छन् ।
दुई वटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबीच समझदारी भएको छ । समझदारीअनुसार भारतको सिलिगुडी देखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । यस्तै अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि दुई देश बीच समझदारी भएको छ । भारतले झापाको चारआलीमा पेट्रोलियम भण्डारण डिपो पनि बनाउने छ । यी तीन परियोजनाको कुल लगानी १७ अर्ब रुपैयाँ भन्दा बढीको हुनेछ ।
यसैगरी फुकोट कर्णाली जलविद्युत् आयोजना एनएचपीसीले बनाउने सम्झौता भएको छ भने तल्लो अरुण आयोजना एसजेभिएनले बनाउने भएको छ । भैरहवामा एकीकृत जाँचचौकी बनाउने सम्झौता भएको छ । यस्तै नेपालबाट भारतमा विद्युत् निर्यातका लागि हरेक पटक अनुमति नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोमा दीर्घकालका लागि नवीकरण हुने सम्झौता भएको छ । यसैगरी चोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाउने सम्झौता समेत भएको छ ।