खाद्यान्न सङ्कट अझै महामारीअघिको स्तरभन्दा माथि : संयुक्त राष्ट्रसङ्घ
काठमाडौं, २८ असार । विगत सात वर्षसम्म विश्वमा भोकमरी बढ्दै गएकोमा सन् २०२२ मा भोकमरी वृद्धिको अवस्था स्थिर तर महामारीअघिको स्तरभन्दा माथि रहेको संयुक्त राष्ट्रसङ्घीय निकायले बुधबार बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन, अन्तर्राष्ट्रिय कृषि विकास कोष, युनिसेफ, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनले तयार पारेको प्रतिवेदनमा सन् २०३० सम्ममा उन्मूलन हुने सम्भावना नरहेको उल्लेख गरिएको छ ।
गत वर्ष ६९ करोड १० लाखदेखि ७८ करोड ३० लाखको हाराहारीमा मानिस भोकमरीको सामना गरेका थिए अर्थात् औसतमा ७३ करोड ५० लाख मानिस भोकमरीको चपेटामा परेका प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१९ मा विश्व जनसङ्ख्याको ७.९ प्रतिशत भोकमरीमा रहेकामा सन् २०२२ मा यो सङ्ख्या बढेर ९.२ प्रतिशत पुगेको छ ।
‘स्टेट अफ फुड सेक्युरिटी एण्ड न्युट्रिसन इन द वल्र्ड’को प्रतिवेदनअनुसार सन् २०२१ देखि २०२२ को बीचमा खाद्य सङ्कट करिब ३८ लाख मानिसको सङ्ख्यामा कमी आएकाले वार्षिक वृद्धि ‘रोकिएको’ हो ।
अफ्रिका, पश्चिम एसिया र क्यारेबियन क्षेत्रमा भोकमरी अझै बढ्दै गएकाले आत्मसन्तुष्टिको कुनै ठाउँ नभएको अधिकारीहरूले चेतावनी दिएका छन् ।
यो प्रतिवेदन ‘विश्व अझै पनि विश्वव्यापी महामारीबाट गुज्रिरहेकोे र अहिले युक्रेनमा युद्धको परिणामसँग जुधिरहेको अवस्थामा आएको हो । यसले खाद्य र ऊर्जा बजारलाई थप झकझकाएको छ ।